समाज

अवैध शिशु जन्माएर युवतीले गरिन आत्महत्या

स्याङ्जा– स्याङ्जामा एक युवतीले शिशु जन्माएपछि आत्महत्या गरेकी छन्। भिरकोट नगरपालिका–७ की २२ वर्षीया स्नेहा अधिकारीले अवैध रुपमा शिशु जन्माएपछि आत्महत्या गरेकी हुन्। 

स्थानीय गम्बर बहादुर अधिकारीले आफ्नो बारीमा मास पुगेकी स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए। दहथुम प्रहरी चौकीको टोलीले घट्नास्थल र वरपर खोजतलास तथा अनुसन्धान गर्दा बेगबहादुर अधिकारीको मलखातमा सालनाल भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए। नवजात शिशु मृत अवस्थामा भेटिएको खबर फैलिएपछि स्नेहाले आत्महत्या गरेको हुनसक्ने उनले बताए। 

मृतकले आफ्नै घरमा काठको बलोमा चुन्नी (पछ्यौरा)ले घाटीमा पासो लगाई झुण्डिएर छटपटाई रहेको अवस्थामा स्थानीयले देखेपछि पासो काटी तत्काल उपचारको लागि गह्रौंघ्यालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगेका थिए। तर, उनको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य केन्द्रका चिकित्सकले बताएका छन्। 

मृतक आमा र नवजात शिशुको शवको जिम्मा बेग बहादुरले लिएका छन्। मृतक दुवैको पोष्टमार्टम गरी दाहसंस्कार समेत गरिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७५ १२:०७ बुधबार

आत्महत्या युवती शिशु स्याङ्जा