समाज

हत्याको अभियोगमा पुर्पक्षका लागि कारागार चलान

हत्या अभियोगमा पुर्पुक्षका लागि कारागार चलान भएका अभियुक्तहरु। तस्बिर मोहन नागरिक

स्याङ्जा– जिल्ला अदालत स्याङ्जाले हत्याको अभियोगमा चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। पुतलीबजार–१ नारायणस्थानका २५ वर्षीय सिसोक गुरुङको हत्यामा संलग्न पुतलीबजार–१ का हिम प्रसाद गुरुङ (गोरे), रोशन थापा मगर (रिट्ठे), ज्ञान सिंह ठकुरी र पुतलीबजार–१४ बस्ने सफल भण्डारी (दिपु) लाई चैत १८ गते जिल्ला कारागार चलान गरेको हो। 

मृतक र अभियुक्तहरुबीच फागुन १८ गते राति मादक पदार्थ सेवन गरी सामान्य कुरामा भनाभन र  झगडा भएको थियो। गुरुङलाई गत फागुन १९ गते बिहान पुतलीबजार–१४ सतौं जाने पक्की पुलमुनी घाइते अवस्थामा जिल्ला प्रहरीको टोलीले फेला परेको थियो।

मृतक गुरुङलाई अभियुक्तहरुले कुटपिट गरी पुलमुनी लगेर फालेको अनुसन्धानमा भेटिएको छ। घाइतेलाई तत्काल जिल्ला अस्पताल स्याङ्जामा उपचारका लागि लगिएको थियो। तर, जिल्ला अस्पतालले तत्काल मणिपाल अस्पताल पोखरा रिफर गरेको थियो। उनको उपचारको क्रममा फागुन २१ मृत्यु भएको थियो।

घट्नाको सत्य–तथ्य छानविन र न्यायका निम्ति मृतककी आमा निरसुवा गुरुङले चार जनाको विरुद्द किटानी जाहेरी दिइकी थिइन्। घट्नामा संलग्नको आरोपमा (गोरे), (रिट्ठे) र (दीपु) लाई तत्काल प्रहरीले पक्राउ परेका थिए। तत्काल फरार रहेका ज्ञानसिंह ठकुरीलाई समेत पक्राउ गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखेका थिए।

घट्ना रहस्यमय बन्दै गएकोले प्रहरीले पोलिग्राफ लगायतको प्राविधिक र अन्य विभिन्न कोणबाट सूक्ष्म ढंगले अनुसन्धान गरेको थियो। ‘घट्नाको प्रकृति हेर्दा रहस्यमय थियो,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी नवीनकृष्ण भण्डारीले भने, ‘पोलिग्राफ लगायत सुक्ष्म अध्ययनले हत्यारा पत्ता लगाउन सफल भयौं।'

प्रकाशित: २० चैत्र २०७५ ११:३९ बुधबार

सिसोक_गुरुङ हत्या अभियुक्त कारागार