समाज

रोल्पा नछोएरै जान्छन् ठूला योजना

रुकुम हुदै गएको मध्यपहाडि लोकमार्ग । तस्बिरः दिनेश सुवेदी/ नागरिक

रोल्पा– १ हजार ७ सय ७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले रोल्पालाई छोएन। चुरे र मध्यपहाडी जिल्लालाई समेट्ने यो राजमार्ग पूर्णरूपमा निर्माण भइसकेको छैन। उक्त मार्गले जिल्लाका उत्तरी छिमेकी जिल्ला बाग्लुङ, रुकुम पूर्व र रुकुम पश्चिमलाई जोडेको छ। रुकुमलाई बीचबाट चिरेर हिँडेको यो सडक रोल्पा आउनेमा आशावादी रोल्पाली पछिल्लो समय निराश बनेका छन। 

वर्तमान सरकार गठन भएको केही समयमै द्वन्दबाट बढि प्रभावित जिल्लालाई जोड्ने गरी मदन भण्डारी राजमार्ग निर्माण गर्ने निर्णय ग-यो। चुरे र भित्रीमधेसलाई जोड्ने गरी पूर्वको झापादेखि पश्चिमको डडेलधुरासम्म उक्त मार्ग निर्माण गर्ने निर्णय भएपनि रोल्पा फेरी छुट्यो। 

झापाको शान्तिनगरदेखि सुरुगरी सुनसरीको धरान, उदयरपुरको गाईघाट, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी–तम्घास, प्यूठानको बागदुला, रोल्पाको सुलीचौर हुँदै रोल्पाकै होलेरीसम्म निर्माण गर्ने सरकारी योजना थियो। तर, प्युठानबाट रोल्पा नछोएर एकै चोटी दाङ झार्ने योजना बनेपछि रोल्पालीहरु फेरी पनि ठगिन पुगे।

‘उपराष्ट्रपती नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, उर्जा मन्त्री वर्षमान पुन सहित बिभागिय मन्त्री लगायत सम्म पुगेर ज्ञापन पत्र दिइयो तर यहाँ पनि रोल्पालाई अलपत्र पारियो,’ रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले भने ‘शान्ती प्रकृया पछि आजसम्म राज्य सत्तामा रोल्पाको बलियो पहुँच छ तर ठुला योजना सबै रोल्पा छलेर गइरहेका छन्। यो रोल्पालीका लागि दुर्भाग्यपूर्ण विषय हो।’

मध्यपहाडी लोकमार्ग पूर्वी पाँचथरदेखि सुरु भई पश्चिमको बैतडी जिल्लाको झुलाघाटमा पुगेर टुंगिन्छ। उक्त मार्गले पहाडका ३९ मध्ये २४ जिल्लाको भूगोल पार गरेको छ। यी मध्ये १९ जिल्ला सदरमुकाम छिचोलेको छ।

रोल्पा घर भएका उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पटक पटक मन्त्री बनेका हालका उर्जामन्त्री बर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, सांसद जयपुरी घर्तीमगर र पूर्वसांसदहरू गोकुल घर्तीमगर, झक्कुप्रसाद सुवेदीसमेत रोल्पाकै हुन्। तर, रोल्पा आउने सडक अन्यत्र मोडिदा नेतृत्वले खासै सकारात्मक भुमिका खेलेको देखिदैन। 

प्रकाशित: २० चैत्र २०७५ ०८:५३ बुधबार

रोल्पा मध्यपहाडी_लोकमार्ग मदन_भण्डारी_राजमार्ग