समाज

सबैको ध्यान फेटामा, महागढी र सुवर्णका पीडितको विचल्ली (भिडियो)

बारा– आइतबार राति आएको विनाशकारी हुरीपछि अहिले सबैको ध्यान बारा र पर्सामा छ। यी जिल्लामा पनि बाराको फेटामा सबैको भन्दा धेरै मानवीय क्षति भयो। यो ठाउँमा १४ जनाले गयो। त्यसैले सिँगो देशको ध्यान नै फेटामा छ। 

यसकारण अन्य क्षेत्रका पीडित भने ओझेलमा छन्।  फेटा गाउँपालिकामा ठूला नेता पुगे। केही न केही राहत पनि पीडितले पाए। तर बारा कै महागढी नगरपालिका र सवर्ण गाउँपालिकाका स्थानीय भने विचल्लीमा परेका छन्।

यो क्षेत्रमा  तीन जनाको मात्रै ज्यान गएको छ। मानवीय क्षति कम हुँदा दाताको ध्यान जानसकेको छैन। सुवर्ण गाउँपालिका ४ काा ३२ वर्षीया रजीया खातुन र ७० वर्षीय श्रीप्रसाद यादवको ज्यान गयो। यस्तै, महागढी तेलगाईमा ७२ वर्षीया कैलीदेवी यादवको ज्यान गयो। 

सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले अहिलेसम्म यो ठाउँमा कोही दाता आइनपुगेको बताए। ‘हामीले स्थानीय विद्यालयमा पीडितलाई खाना खुवाइरहेका छौं’, उनले भने, ‘सरकारी निकायको ध्यान अहिलेसम्म आएको छैन।’

उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा संघीय समाजवादी फोरमका महासचिव रामसहायप्रसाद यादवले सबैको ध्यान फेटामा रहेकाले त्यहाँ स्थानीय ओझेलमा परेको बताए। ‘सबैको ध्यान फेटामा छ। यो ठाउँमा केही राहत पनि आउन सकेको छैन’, त्यहाँको अवस्था बुझ्न पुगेका यादवले भने, ‘ राज्यको ध्यान जान सकेन।’

यादवसँगै पुगेका प्रदेशसभा सदस्य सारदाशंकर साहले प्रमुख जिल्ला अधिकारी तथा बाराका सुरक्षा निकायका प्रमुखलाई यहाँको बारेमा जानकारी गराउँदा पनि बेवास्था गरेको दुखेसो गरे। त्यहाँ स्थानीय राहतको पर्खाईमा छन्। त्यहाँको अवस्था बुझ्न मुख्यमन्त्रीबाहेक अहिलेसम्म कोही पुगेको छैन।  ‘सोमबार राति मुख्यमन्त्री आउनुभएको थियो। भोलि आउँछु भनेर जानुभएको हराउनुभयो’, स्थानीय शान्तिदेवी चमारले भनिन्, ‘सीके राउत आउनुभएको थियो। हात जोडेर नमस्ते गर्नुभयो अनि जानुभयो।’

आफूहरूका बारेमा बुझ्न कोही नआएको पीडित सचितादेवी चमारको दुखेस छ। ‘हामीलाई के कस्तो छ बुझ्न कोही आएनन्’, उनले भनिन्,‘राज्य कहाँ छ? मिडियाले पनि हाम्रो कुरा बाहिर ल्याएन।’

हुरीका कारण श्रीमती गुमाएका महागढीका ८५ वर्षीय जगदीशप्रसाद यादवलाई सान्तवना दिने पनि कोही छैन। खुला आकाशमुनि श्रीमतीको काजकिरिया गरिरहेका छन्। ‘आइतबार बेलुका खाना खाएर हात धुन निस्किएको थिएँ। एकै छिन हावा आयो। मलाई लडाइदियो। उठेर हेर्दा घर लडिसकेको रहेछ’, उनले कहाली लाग्दो समय सम्झिए, ‘हारगुहार गरेँ। कोही आएनन्। पछि मात्रै आए। त्यो बेला घरले थिचेर छोरो गम्भीर घाइते भएको अवस्थामा निकालियो। बूढी बितिसकिछ।’ 

महागढी र सुवर्णमा धेरै मानवीय क्षेत्री नभए पनि भौतिक क्षति धेरै भएको छ। त्यस क्षेत्रमा सुवर्ण गाउँपालिका १, ४, ७ र ८ मा र महागढी १ मा गरी ६ सय बढी घर भत्किएको बताइएको छ।

 

प्रकाशित: २० चैत्र २०७५ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App