समाज

चार बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

जुम्ला– जुम्लामा चार बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका– ४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीलाई सोमबार दिउँसो नाबालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि भारतीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। भारतीवाडा स्थित अशोकनमूना आधारभुत विद्यालय परिसरमा लगेर बालिकामाथि यौन दुर्व्यवहार गर्दै गरेको आफन्तले भारतीलाई फेला पारेका थिए।

पीडित बालिकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ। दुर्व्यवहारविरुद्ध प्रहरीमा जाहेरी दिएपछि बालिकाको परिवारलाई धम्की आइरहेको पीडित परिवारका सदस्यले बताएका छन्।

प्रहरी निरीक्षक नवीन ओलीका अनुसार पीडित पक्ष आरोपितको दवावमा मिलापत्र गर्न खोज्दै थिए, तर सार्वजनिक भइसकेको घटनाबारे प्रहरीले अडान लिएपछि मात्र पीडित पक्षले जाहेरी दर्ता गराएका थिए।

प्रकाशित: १९ चैत्र २०७५ १५:३६ मंगलबार

यौन_दुर्व्यवहार नाबालिका जुम्ला पक्राउ