समाज

अभिलेखालयमा जनशक्ति अभाव

काठमाडौं – कार्यालयको स्तरोन्नति भएको आठ महीना बित्दासमेत जनशक्ति कम हुँदा राष्ट्रिय अभिलेखालयमा दैनिक कार्यालय सञ्चालन गर्न कठिनाई हुन थालेको छ।

गत साउनमा अभिलेखालयको विभागस्तरमा स्तरोन्नति भएको थियो। त्यसअघिसम्म पुरातत्व विभागअन्तर्गत अभिलेखालय थियो। साउनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सिधैँ हेर्न थालेको हो। अभिलेखालयको वेवसाइटमा भने अझै विभाग अन्तर्गत नै कार्यालय रहेको उल्लेख छ। विभागअन्तर्गत हुँदा ३७ जनाको दरबन्दी रहेको अभिलेखालयमा स्तरोन्नति भएपछि भने २० मा झरेको छ। संघीय संरचनामा गएका कारण कर्मचारीको दरबन्दी घट्दै गएको जानकारी पाइएको अभिलेख शाखा प्रमुख निरणकुमार राजवंशीले बताए।

लिपि बुझ्ने जनशक्ति नहुँदा पुराना कर्मचारीलाई बोलाएर तथा बाहिरबाट बोलाएर काम चलाउनु परेको

राजपत्रांकित प्रथम श्रेणीको अधिकृतले नेतृत्व गर्नुपर्नेमा आठ महीनासम्म मन्त्रालयले सहसचिव समेत पठाउन सकेको छैन। मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सहसचिवस्तरको कर्मचारी अभाव रहेकाले अभिलेखालयमा कामुको जिम्मेवारी दिइएको बताए। जनशक्ति अभाव भएको बारेमा अभिलेखालयबाट लिखित वा मौखिक जानकारी नआएको उनले बताए। असारअघि विभागले अभिलेखालयलाई हेर्ने गरेकामा हाल सिधै मन्त्रालयले हेर्ने गरेको छ।

लिपि बुझ्ने जनशक्ति नहुँदा पुराना कर्मचारीलाई बोलाएर तथा बाहिरबाट बोलाएर काम चलाउनु परेको अभिलेखालयका अभिलेख शाखा प्रमुख राजवंशीले बताए। अभिलेखालयमा १२ हजार हस्तलिखित, पोकाको हस्तलिखित ठेली ३८ हजार, हालसम्म दुई लाख पानाको माइक्रोफिल्म गरिएका ऐतिहासिक अभिलेख छन्। यी अभिलेख अध्ययनका लागि दैनिक पाँच÷छ जना अध्ययन अनुसन्धानका लागि आउने गरेका छन्।

प्रकाशित: १९ चैत्र २०७५ ०१:२१ मंगलबार

अभिलेख जनशक्ति