समाज

भिडियो एक्स–रे नहुँदा समस्या

धमिलो आउने भिडियो एक्सरेमा सेवा दिँदै डा. प्रकाश बुढा। तस्बिर दिनेश/नागरिक

रोल्पा– जीर्ण भवन, अपर्याप्त कोठा। यिनै संरचनाभित्र सेवा दिइरहेको छ, जिल्लाकै एक मात्र रोल्पा अस्पतालले। पछिल्लो समय अस्पतालमा अत्यावश्यक सामान अभाव छ। अस्पताल थप समस्यामा परेको छ।

दुई जना दरबन्दी र अन्य तीन गरी पाँच जना डाक्टर अस्पतालमा कार्यरत छन्। तर, जिल्ला अस्पतालको अत्यावश्यकीय उपकरण मानिने भिडियो एक्स–रे ले काम गर्दैन। जसका कारण उपचारमा आएका बिरामीको स्वास्थ्य थप जटिल बनेको छ।

‘केही समयअघि कामै नलाग्ने गरी बिग्रिएकाले नेपालगञ्ज लगेर बनाएका थियौं। बन्न त बन्यो, तर क्लियर पिक्चर आउँदैन,’ अस्पतालका डाक्टर प्रकाश बुढाले भने। लामो समयदेखि मेसिनले राम्रोसँग काम नगरेकाले गतिलो नतिजा निकाल्न गाह्रो हुने चिकित्सक बताउँछन्।

दैनिक १५ देखि २० जनाको स्वास्थ्य परीक्षण गर्ने एक मात्र मेसिन बिग्रिएको महिनौं भए पनि नयाँ खरिद गर्नेतर्फ अस्पतालले ध्यान दिन दिन सकेको छैन। डा. बुढा थप्छन्, ‘यसैबाट काम त गरिरहेका छौं, तर धमिलो आउँछ। प्रदेशले किनेर पठाइदिन्छौं भनेको धेरै भयो, तर पठाएको छैन। अब असारतिरै पठाउला।’

आवश्यक सामग्री खरिद प्रक्रिया मिलाउने भन्दै विभिन्न बहानामा सरकारी संयन्त्रले जानाजान ढिलाई गर्दा दुर्गमका बिरामीहरू मारमा पर्ने गरेका छन्। केही समयअघि करिब आधा महिना बढी भिडियो एक्सरे सेवा बन्द हुँदा दर्जनौं बिरामी नजिकका निजी स्वास्थ्य संस्था र बाहिरी जिल्लामा गएका थिए। अस्पतालमा गर्भवतीका लागि दुई सय ५० र अन्यलाई पाँच सयमा दिइने यो सेवा निजी स्वास्थ्य संस्थामा एक हजार बढी लाग्ने गरेको बिरामीहरु बताउँछन्।
‘बाहिर निजीमा जाँदा महँगो पर्छ। सुरुमै नाम लेखाउदा २ सय लिन्छन्। अनि यताउती गर्दा एक हजार रुपैयाँ पुगिहाल्छ। अस्पतालमा सेवा नहुँदा बिरामीलाई अन्यत्र नजाऊ भन्न पनि भएन,’ जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी भन्छन्, ‘हाम्रोमा स्वास्थ्य सुधारमा सरकारी चासो घट्दो छ। विकास भनेको सडक र डोजर हो भन्ने मान्यताका कारण समस्या थपिएको छ।’

रोल्पा नगरपालिकाले पनि अस्पतालको समस्या सुनेको जनाएको छ। ‘अस्पतालमा भिडियो एक्स–रे बिग्रेको छ भन्ने सुनेको छु। प्रदेश सरकारले खरिद गर्दै गरेको भन्ने खबर पाएकाले हामीले पर्खेका हौ। यदि उताबाट आउँदैन भन्ने भयो भने हामीले सहयोग गर्न सक्छौं।’ नगरप्रमुख पूर्ण केसीले भने, ‘नगरपालिका स्वास्थ्य समस्या समाधान गर्न संवेदनशील छ।’

प्रकाशित: १८ चैत्र २०७५ ११:१५ सोमबार

रोल्पा_अस्पताल संरचना अभाव