काठमाडौं–आइतबार बेलुका एक्कासी आएको हावाहुरीले बारा र पर्सामा गरी २७ जनाको ज्यान लियो भने पाँच सय जति घाइते भए। नेपालमा यसअघि यति ठूलो जनधनको क्षती हुने गरी हावाहुरी आएको रेकर्ड कम्तिमा तीन दशक यता पाइँदैन। यति ठूलो हावाहुरी आउने जानकारी मौसम पूर्वानुमान महाशाखाले किन दिएन भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन।
बीबीसीका वातावरण पत्रकार नवीनसिंह खड्काले त सोमबार बिहानै ट्वीट गरेरै यो प्रश्न उठाएका छन्। ‘नेपालको पूर्वी तथा मध्य भेगमा त्यतिका मान्छेको ज्यान लिएको त्यत्रो वेगको हावाहुरी आउँदैछ भन्ने पूर्व चेतावनी किन दिइएन? जबकि भारतको मौसमविज्ञान विभागले त्यस्तो चेतावनी पश्चिम बंगाल, बिहार लगायतका सीमा पारिका भारतीय राज्यहरूका लागि जारी गरेको रहेछ’ – खड्काले ट्वीट गरेका छन्।
जल तथा मौसमविद् डा. अम्बरिस पोख्रेलले पनि फेसबुकमा स्टाटस लेख्दै प्रविधिका लागि आवश्यक बजेट विनियोजन नगर्दा हावाहुरीको पूर्वानुमान हुन नसकेको टिप्पणी गरेका छन्। सरकारले यस्तै अवस्थाबारे पूर्व जानकारी हासिल होस् भनेरै मौसम पूर्वानुमान महाशाखा गठन गरेको छ। २०२५ सालदेखि नै क्रियाशिल यो महाशाखाले किन यति ठूलो स्केलको हावाहुरीको अनुमान गर्न सकेन त?
महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आवश्यक जनशक्ति र प्रविधिको अभावमा यस्तो अनुमान गर्न नसकिएको हो।
‘हामीले मेघगर्जन सहितको हावाहुरी आउँछ भनेर पूर्वानुमान गरेका त थियौं’, कँडेल भन्छिन्, ‘तर, यो जिल्लामा यति गतिको हावाहुरी आउँछ भन्नलाई हामीसँग आवश्यक जनशक्ति र प्रविधि छैन।’
कँडेलले भने जस्तै महाशाखाले यस्तो अनुमान गरेको थियो –
‘देशका पूर्वी र मध्य भेगहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिकदेखि सामान्य बदलि रहनेछ। देशका पूर्व र मध्य भेगका केही स्थानहरु अनि पश्चिमी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना देखिन्छ।’
वरिष्ठ मौसमविद् कँडेलका अनुसार अहिले महाशाखामा जम्मा १० जनामात्रै मौसमविद् छन्। यो दरबन्दी २०४४ सालमा कायम गरिएको हो। त्यसयता दरबन्दी थप गरिएको छैन। उनका अनुुसार ३६५ दिन र २४ घण्टै मौसम पूर्वानुमान गर्नका लागि कम्तिमा ३० जना मौसमविद्को आवश्यकता पर्छ। त्यस्तै मौसम पूर्वानुमान महाशाखाको अर्को प्रविधिगत अभाव हो।
‘मौसम अनुमान गर्न राडार चाहिन्छ’, कँडेल भन्छिन्, ‘अहिले त्यस्तो राडार सुर्खेतमा मात्र छ। मध्य र पूर्वी नेपालको मौसम अनुमान गर्न राडार नै छैन।’
‘हामीले त्यो पूर्वानुमान हेरेरै नेपालमा पनि त्यस्तो हुनसक्ने संकेत जनाएरै अनुमान सार्वजनिक गरेका थियौँ’, कँडेल भन्छिन्, ‘तर भारतीय अनुमान नै हाम्रोमा पूर्णत लागू हुन्छ भन्ने हुँदैन।’
मौसम अनुमानको अर्को विधि गणितीय मौसम पूर्वानुमान पनि हो। यो विधिमा मौसमको वर्तमान अवस्था कम्प्युटर सफ्टवेयरमा राखेपछि सफ्टवेयरले भावी मौसमको अनुमान गर्छ। ‘यो विधि प्रयोग गर्न मोडलहरू बनाउनुपर्छ। अहिले हामीसँग एउटामात्रै मोडल छ। यस्ता मोडल कम्तिमा चार, पाँचवटा चाहिन्छ। हावाहुरीको अनुमान गर्ने बेग्लै हुन्छ, पानीको अनुमान गर्ने बेग्लै’, कँडेल भन्छिन्।
त्यस्तो मोडल निर्माण गर्न अनुसन्धान र विकासमा पैसा खर्च गर्नुपर्छ। अनुसन्धानका लागि आवश्यक बजेट नदिँदा यस्तो मोडल विकास गर्न नसकिएको कँडेलको तर्क छ।
कँडेलका अनुसार मौसम अनुमान गर्न आवश्यक स्वचालित स्टेशनको पनि अभाव छ। आफूसँग पर्याप्त जनशक्ति र प्रविधि नभएपछि भारतीय मौसम विज्ञान विभागले गरेको अनुमानलाई नेपाली मौसम विभागले किन ग्रहण गर्न सकेन त? ‘हामीले त्यो पूर्वानुमान हेरेरै नेपालमा पनि त्यस्तो हुनसक्ने संकेत जनाएरै अनुमान सार्वजनिक गरेका थियौँ’, कँडेल भन्छिन्, ‘तर भारतीय अनुमान नै हाम्रोमा पूर्णत लागू हुन्छ भन्ने हुँदैन।’
किन आयो हावाहुरी ?
आइतबार बेलुका बारा र पर्सामा यति तीव्र गतिमा किन हावाहुरी आयो भन्ने ठोस निष्कर्षमा मौसमविद्हरू अझ्र पुगिसकेका छैनन्। उनीहरूले यसको एउटा मुख्य कारण प्रिमन्सुन गतिविधि नै हो।
मौसमविद्का अनुसार चैतदेखि जेठसम्मको समय नेपालमा प्रिमन्सुनको समय हो। यो समयमा बंगालको खाडीबाट बहेर आउने वाष्पयुक्त हावाले दिउँसोदेखि बेलुकासम्म नेपालमा हावाहुरी सिर्जना गर्छ।
बारा र पर्सामा यति ठूलो गतिमा हावाहुरी आउनुको कारण चाहिँ स्थानीय वायु निर्माण भएको पनि मौसमविद्हरूको अनुमान छ।
मौसमविद् कँडेलका अनुसार दुई–तीनदेखि लगातार वर्षा भएकाले सतहमा ताप उत्पन्न भयो।
सतहमा तातेको हावा माथि गयो र चिसिँदै गयो। आकाशमा जम्मा भएको चिसो वायु एक्कासी तातेको सतहमा आउँदा हावाहुरी सिर्जना भयो। यो हावाहुरी २० देखि २५ मिटर प्रति सेकेण्डको भएको मौसमविद्हरूका अनुमान छ।
प्रकाशित: १८ चैत्र २०७५ ०७:५९ सोमबार