समाज

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी न्यूनचापीय वायुको प्रभावले शनिबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। 

शुक्रबारदेखि प्रवेश गरेको न्यूनचापीय वायुको प्रभावले अझै एक–दुई दिन देशका पूर्व र मध्य भू–भागको मौसम प्रभावित हुने महाशाखाका मौसमविद् मञ्जु वासीले बताइन्। तत्काल भारी वर्षाको सम्भावना नरहे पनि अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् वासीले जानकारी दिइन्। 

उनका अनुसार प्रिमनसुनको समय भएका हुनाले वर्षा लामो समय हुनेछैन् छिनमै मौसमपरिवर्तन हुनेछ। उच्च हिमाली भू–भागमामा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ। 

राति देशका अधिकांश स्थानमा सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। आइतबार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी–पश्चिमी स्थानका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यस्तै सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराई भेगको केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंको उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस र अधिकमत तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।    (रासस)

 

प्रकाशित: १६ चैत्र २०७५ ०६:२० शनिबार

वर्षा मौसम पानी जल_तथा_मौसम_पूर्वनुमान_महाशाखा