समाज

विप्लव समूहका २२ जना पक्राउ

बुटवल - सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ। यो प्रदेशमा एनसेल टावर प्रकरणपछि १० र सरकारको प्रतिबन्धपछि १२ जना पक्राउ परेका छन्। पछिल्लो चार सातामा २२ जना पक्राउ परेका प्रदेश प्रहरी कार्यालय दाङका डिएसपी टीका कार्कीले जानकारी दिए।

प्रक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भ्रातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज छन्। विप्लव निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्य र युवा संगठनका केन्द्रीय सदस्य शेरबहादुर रानालाई गएराति पक्राउ गरिएको छ।

आर्चाय विप्लवले गठन गरेको अवध लुम्बिनी जनसरकार सदस्य पनि हुन्। प्रहरीले समानान्तर जनसत्तामा भएका नेताहरुलाई विशेष टार्गेट गरेको छ। रुपन्देहीको सूर्यपुरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक आचार्यलाई रुद्रपुरस्थित घरबाटै पक्राउ गरेको हो। उनको साथबाट चन्दा रसिद, पर्चा पप्लेट बरामद भएका छन्। रुपन्देहीबाट पार्टीको युवा संगठनका जिल्ला अध्यक्ष महेन्द्र टण्डन र ट्रेड युनियन क्रान्तिकारीका जिल्ला सदस्य युवराज न्यौपाने ‘अक्कल’ पनि फक्राउ परेका छन्। टन्डनलाई बुटवलको तीनकुनेबाट र अक्कललाई भैरहवाबाट पक्राउ गरिएको हो। 

पश्चिम नवलपरासीका जिल्ला इन्र्चाज गंगा ज्ञवाली ‘सुमन’ गत सोमबार राति  बर्दघाट नगरपालिका ४ बाट पक्राउ परे। उनलाई प्रहरीले आगजनी मुद्दा लगाएको छ। यसअघि अर्घाखाँची इन्चार्ज रहेका उनी केही समयअघि नवलपरासी आएका थिए। प्युठानबाट  नुवाखर डुम्रे र पदमप्रसाद पोखरेल पक्राउ परेका छन्। पोखरेल अनेरास्वियु क्रान्तिकारीको केन्द्रीय सदस्य तथा राप्ती समन्वय समिति संयोजक हुन् भने डुम्रेको पद खुलाइएको छैन। 

बाँकेबाट सबैभन्दा धेरै ५ जना पक्राउ परेका छन्। जनपरिषद् बाँकेका अध्यक्ष कृष्णबहादुर शाहीलाई चैत ११ गते बैजनाथ गाउँपालिकाबाट पक्राउ गरिएको हो। १२ गते कोहलपुरबाट हुम्ला घर भएका भेरी ब्युरो सैन्य इन्चार्ज दानबहादुर फडेरा र सन्तोष बस्नेत पक्राउ परेका छन्। बाँकेका न्याय विभाग प्रमुख चित्रबहादुर विक ‘कुमार’ र अनेमसंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धकुमारी शाह (चन्द) पक्राउ परेका छन्। पक्राउ परेका केन्द्रीय स्तरका नेतालाई संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ। तर हतियारबिनै घरबाटै पक्राउ गरेका धेरैजसोलाई सर्वाजनिक नैतिकताविरुद्धको अभद्र व्यवहार मुद्दा चलाइएको छ। 

सरकारले प्रतिबन्ध लाउनुअघि नै फागुन २३ गते विप्लवको कपिलवस्तुस्थित घरमा प्रहरीले छापा मारी हतियारसहित विष्फोटक पदार्थ बरामद गरेको थियो। एक जना पक्राउ परेका थिए। त्यसलगत्तै भएको प्रदेश सुरक्षा गोष्ठीले विप्लवलाई मुख्य सुरक्षा चुनौती परिभाषित गर्दै सुरक्षा रणनीति बनाएपछि विप्लवको बलियो पकड क्षेत्रको रुपमा रहेको प्रदेश ५ बाट पार्टीका गतिविधि पश्चिम र पूर्वी क्षेत्रमा केन्द्रित गरिएको स्रोतको भनाइ छ। नेताहरु पूर्ण भूमिगत छन्। सञ्चार र सामाजिक सञ्जालबाट टाढिएका छन्। चिनिएका कार्यकर्तासमेत लाखापाखा लागेका छन्। 

प्रदेशमा विशेषगरी रोल्पा, रुकुम, प्युठान, दाङ, कपिलवस्तुलाई बढी संवेदनशीत जिल्ला रुपमा प्रहरीले हेरेको छ। रोल्पा इरिबाङ पार्टीका महासचिव विप्लवको पुरानो थलो हो। पार्टी प्रवक्ता खडगबहादुर विश्वकर्माको जन्मथलो र हेडक्वार्टर पनि रोल्पाकै मल्कोटमा पर्छ। तराइमा विप्लवको मुख्य आधार क्षेत्र कपिलवस्तु  हो। पार्टीका महासचिव विप्लवको हालको घर कपिलवस्तुकै शिवराज नगरपालिका ९ शिवगढी हो।

त्यस्तै प्युठान र सल्यान पनि मुख्य इलाकाको रुपमा प्रयोग हुँदै आएको छ। त्यसैले यी जिल्लाहरुलाई अतिसंवेदनशीलको सूचीमा राखिएको सुरक्षा श्रोतले बताएको छ। ती जिल्लामा सुरक्षाकर्मीहरुको संख्या बढाइएको छ। तर प्रदेश प्रहरी प्रमुख डीआइजी पिताम्बर अधिकारीले भने प्रदेशका सबै जिल्लाहरुको सुरक्षा संवेदनसीलतालाई ध्यानमा राखिएको बताए।

जनतालाइ शान्तिको प्रत्याभूति दिलाउने र विप्लव तर्साउने रणनीतिअनुरुप केही समयअघि विप्लवको आधार इलाका मानिएको रोल्पाको नरहरिनाथ गाउँपालिकाको कुमालगाँउमा सेनाको स्वास्थ्य शिवरसमेत सञ्चालन गरिएको थियो।  विप्लवको तराई घर कपिलवस्तुको शिवगढीमा नेपाल प्रहरी र सशस्त्रको निगरानी बढेको छ।

 

प्रकाशित: १५ चैत्र २०७५ १४:०३ शुक्रबार

विप्लव_समूह प्रतिबन्ध कार्यकर्ता