समाज

फोहोरको डंगुरमा सिन्धुलीगढी

सिन्धुलीगढी क्षेत्रमा देखिएको फोहोर । तस्विरस: अनिल भण्डारी/ नागरिक

सिन्धुली- कमलामाई नगरपालिका ३ मा पर्ने सिन्धुलीगढीमा फोहोर थुप्रिएको हप्तौं भयो। नगरपालिकाले फोहोर उठाउने चासो नदेखाउँदा गढी क्षेत्रको फोहोर व्यवस्थापन यतिखेर चुनौती बनेको छ। जसले देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य सिन्धुलीगढी फोहोरले ढाकिँदै गएको छ।

काठमाडौंलाई पूर्वी तराई जोड्ने सबैभन्दा छोटो बाटो हो, बीपी राजमार्ग। सिन्धुलीगढी क्षेत्र यसै मार्गअन्तर्गत पर्छ। दैनिक सयौं गाडी तथा हजारौं यात्रु यसै मार्ग भएर ओहोरदोहोर गर्छन्। पछिल्लो समय सिन्धुलीगढी क्षेत्रमा भएको पूर्वाधार विकासले पनि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। तर, यसरी भित्रिएका पर्यटकको व्यवस्थापन चुस्त नहुँदा चर्चित पर्यटकीय क्षेत्र सिन्धुलीगढी कुरूप बन्दै जान थालेको छ।

पुर्ननिर्माण हुँदै गरेको सिन्धुलीगढीमा हाल फोहोरै फोहोर देखिन्छ। बुधबार नागरिकर्मी सिन्धुलीगढीमा पुग्दा त्यस क्षेत्रको ऐतिहासिक सिन्धुलीगढी दरबार आसपास तथा ठूलो गढी क्षेत्रमा फोहोरै फोहोर थियो। 

पर्यटकहरूले खाजापानीमा प्रयोग गर्ने कागज खोल तथा बोतलको उचित व्यवस्थापन गर्ने स्थान नतोकिँदा यो क्षेत्रमा फोहोर र दुर्गन्ध बढेको देखिन्छ। यतिमात्र होइन, पर्यटक बढेसँगै त्यसबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा सिन्धुलीगढी सहित गढी पुग्ने सडक समेत फोहोर देखिन थालेको छ। त्यसो त नगरपालिकाले सिन्धुलीगढीको थप प्रवर्धन र विकासका लागि भन्दै करोडाैं रुपैंया खर्चेर विभिन्न योजनाहरू बनाएको छ। तर, लगानी थप्दै गएपनि उचित व्यवस्थापन हुन नसक्दा गढी क्षेत्र अस्तव्यस्त हुन थालेको छ। हाल सिन्धुलीगढीको ठूलो गढी क्षेत्रमा वियरका बोतल, पानीका बोतल, कागज प्लाष्टिकजन्य कुहिने र नकुहिने फोहोरले भरिएको छ। ठूलो गढीमा नेपालको झन्डा फहराइ रहँदा झण्डाको फेदमा भने बियरका बोतल समेतको फोहोरले भरिएको छ। 

‘पर्यटकको दैनिक आवातजावत हुँदा फोहोर बढ्नु स्वाभाविकै हो, तर उचित व्यवस्थापन हुन जरुरी देखिन्छ,’ शिक्षक सुमन कोइरालाले भने, ‘ऐतिहासिक क्षेत्रमा यस्तो फोहोर देखिनुभएन।’ फोहोर व्यवस्थापन गर्न कमलामाई नगरपालिका र पर्यटक आफैले पनि जुट्नुपर्नेमा उनको जोड छ।

सिन्धुली सदरमुकामबाट विपी राजमार्गको २० किलोमिटर दुरीमा पर्ने ऐतिहासिक सिन्धुलीगढी पर्यटकिय महत्वको प्रमुख गन्तव्य हो। नगरपालिकाले वार्षिक करोडौ खर्चेपनि हालसम्म फोहोरकै उचित व्यवस्थापन हुन नसकेको स्थानीय बताउछन्। ‘वनभोज खानेदेखि आवातजावत गर्ने र स्थानीयबाटै हुने फोहोरको व्यवस्थापन हुन सकेको छैन,’ एक स्थानीयले भने, ‘देशभित्रका मात्र नभएर देश बाहिरका समेत पर्यटकको प्रमुख गन्तव्य बन्न सक्ने गढीलाई सुन्दर राख्न सम्बन्धित निकायले ध्यान दिनुपर्छ।’ नगर प्रमुख खड्गबहादुर खत्री सिन्धुली गढीलाई सधैं सफा राख्न निर्देशन दिइएको बताउँछन्। ‘सिन्धुलीगढीमा फोहोर छ र?’ नागरिकसँग प्रश्न गर्दै भने, ‘म तत्काल सफा गर्न निर्देशन दिन्छु। तत्कालै सफा गर्छौं।’ 

प्रकाशित: १५ चैत्र २०७५ १२:१६ शुक्रबार

फोहोर सिन्धुलीगढी