समाज

हत्या अभियोगमा दुई किशोर जेल चलान

उदयपुर – बालिकालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँका २ किशोरलाई जेल चलान गरिएको छ।

गएको कार्तिक २५ गते १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आरोप लागेका १६ र १७ वर्षीय किशोरलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको हो।

न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले १६ वर्षीय किशोरलाई १२ वर्ष ६ महिना कैद र १ लाख जरिवाना तथा १७ वर्षीय किशोरलाई १६ वर्ष २ महिना ६ दिन कैद र १ लाख जरिवानाको फैसला सुनाएको हो। १७ वर्षीय किशोरले घटनाका बेला भरुवा बन्दुकसमेत साथमा राखेको पाइएकाले त्यसवापत थप ३ वर्ष जेल र ३० हजार जरिवानाको फैसला सुनाइएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए।

आचार्यका अनुसार ती किशोरको हकमा सरकारी वकिल कार्यालयले बलात्कार, हत्या र हातहतियार र खरखजाना गरी ३ प्रकृतिका मुद्दा दायर भई अनुसन्धान चलाएका थियो। सोही अनुसार उनलाई थप कैद र जरिवानाको व्यवस्था गर्नुपरेको हो। पीडित पक्षको मागदावी वमोजिम अदालतले किशोरलाई ऐनकानुनको अधिनमा रहि उमेर पुगेकालाई हुने सजायको एकतिहाई कम सजाय हुने व्यवस्था अनुसार फैसला सुनाइएको आचार्यले बताए।

१६ वर्षीय किशोरले भने हतियार नबोकेको पाइएकाले बलात्कार र हत्या सम्बन्धी २ प्रकृतिका मुद्दा मात्र चलाउँदा कम सजाय हुनुपर्नेे देखिएपछि उनलाई अदालतले उमेर पुगेका नागरिकको तुलनामा आधा सजायको फैसला सुनाएको हो।

तिहारको बेला कात्तिक २४ गते बाख्रा चराउन जंगल गएकी एल्जिना भोलिपल्टसम्म घर नफर्केपछि खोज्दै जाने क्रममा घरनजिकैको जंगलमा पर्सिपल्ट मृत अवस्थामा भेटिएकी थिइन्।

घट्नामा संलग्न भएको आशंकामा छिमेकी दुई किशोरलाई साता दिनभित्रै प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो। विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको मृतकको शव पोष्टमार्टम रिपोर्टले बालिकाको बलात्कारपछि हत्या भएको ठहर गरेको थियो।  

 

प्रकाशित: १४ चैत्र २०७५ ०८:०८ बिहीबार

बलात्कार हत्या किशोर जेल