समाज

स्वास्थ्यचौकीको ‘औषधि बेच्ने’ अहेवलाई सरुवा मात्र

अहेव सरूवाकाे विषयमा भएकाे छलफल।

ओखलढुंगा – ओखलढुंगामा सरकारी औषधि बिक्री गरेको आरोप लागेका अहेवलाई सरुवा गरिने भएको छ। सुनकोसी गाउँपालिका–७ च्यानम स्वास्थ्य चौकीमा कार्यरत अहेव मोहन बानियाँले सरकारी औषधि बेचेको आरोप लागेको थियो। 

अहेब वानियाँलाई कारबाहीको माग गर्दै केही साताअघि एक सय ६८ जना स्थानीयले वडा कार्यलयमा उजुरी दिएका थिए। स्थानीयको निवेदनपछि वडा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीयहरुबीचको सर्वपक्षीय बैठकले बानियाँलाई कारबाहीस्वरुप अन्यत्र सरुवा गरिने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख मोहन सुवेदीले बताए। 

उनको सरुवाका लागि वडा कार्यालयबाट गाउँपालिकामा सिफारिस गरिने  वडाध्यक्ष श्यामबहादुर कटुवालले जनाएका छन्। सर्वपक्षीय छलफलका क्रममा सरकारी औषधि बिक्री गरेको आरोप लागेका बानियाँले आरोप स्वीकारेको वडाध्यक्ष कटुवालको भनाइ छ। पाँच दिनभित्र अहेव बानियाँको सरुवा नभए अर्काे चरणको विरोधमा उत्रने चेतावनी दिएका छन्।

 

प्रकाशित: १३ चैत्र २०७५ १३:५३ बुधबार

औषधि_बिक्री अहेव स्वास्थ्य_चाैकी