समाज

विप्लवका १७ कार्यकर्ता तारेखमा छुटे

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्ला अदालतले राज्यविरुद्ध अपराध गरेको मुद्दा खेपिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ कार्यकर्तालाई पुर्पक्षका लागि तारेखमा छोड्न आदेश दिएको छ। 

जिल्ला न्यायाधीश टीकाराम आचार्यको इजलासले बुधबार मुद्दा लागेकामध्ये तीनलाई साधारण तारेख, एकलाई २५ हजार र बाँकी १३ जनालाई जनही ६ हजार रुपैयाँ धरौटी लिएर तारखेमा छोड्न आदेश दिएको हो। स्रेस्तेदार लेखनाथ पौडेलले उनीहरुलाई मुद्दाको पुर्पक्षका लागि सामान्य र धरौटी लिएर तारेखमा छोड्ने आदेश भएको बताए। 

उनका अनुसार चन्द नेकपाका जिल्ला तहका नेता इन्द्रबहादुर ठकुरीसँग २५ हजार रुपैयाँ धरौटी मागिएको छ। १८ वर्षमुनिका किशोरीत्रय रमिता अधिकारी, हीराखत्री र सविता (मनिषा) श्रेष्ठलाई बिना धरौटी साधरण तारेखमा छोड्न भनिएको छ। धनबहादुर श्रेष्ठ, पूर्ण मल्ल ठकुरी, मेलम तामाङ, समीर तामाङलगायत १३ जनासँग ६ हजार रुपैयाँका दरले धरौटी माग गरिएको छ।

आदेशपछि साधारण तारेखसहित धरौटी बुझाएर चार जना रिहा भएका छन्। धरौटी तिर्न नसकेकाले नौ जनालाई जिल्ला कारागार पठाइएको स्रेस्तेदार पौडेलले बताए। संगठन विस्तारको क्रममा साँगाचोकको कार्कीटार पुगेका बेला गत फागुन १७ गते उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। 

जिल्लामा चन्दा आतंक मच्चाएको, धाकधम्कीको राजनीति अघि बढाएको, अर्धसैन्य संरचना बनाएको आरोपमा प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेर २५ दिन हिरासतमा राखी उनीहरुमाथि अनुसन्धान गरेको थियो। सरकारकातर्फबाट जिल्ला न्यायाधिवक्ता र प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता टेकराज भण्डारीसहित आधा दर्जन कानुन व्यवसायीले दुई घण्टा लामो बहस गरेका थिए। 

प्रकाशित: १३ चैत्र २०७५ १३:४१ बुधबार

सिन्धुपाल्चोक अपराध विप्लव साधारण_तारेख