समाज

सिआइबीका डिएसपी अंगुर जिसीसँग दुई दिन बयान

कंचनपुर – निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसँग कंचनपुर जिल्ला अदालतमा सोमबार र मंगलबार दुई दिन बयान लिइएको छ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासमा सोमबारबाट सुरु भएको उनको बयान मंगलबार सकिएको स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए।

डिएसपी जिसी सोमबार आफैं अदालतमा उपस्थित भएका थिए। मंगलबार नै बयान सकिएपछि जाहेरी दिने दिलिप बिष्टका दाजु खडक बिष्टको पक्षबाट अधिवक्ता वसन्त गौतमले बहस गरेका छन्। बुधबार पनि थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिएपछि सामान्य तारेखमा छोड्ने, धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने आदेश हुनेछ।

यसअघि तत्कालीन एसपी बिष्टसहित सात जनालाई धरौटीमा छोडिएको थियो। जिसी कंचनपुर प्रहरी कार्यालयको हिरासतमा राखिएका छन। साथी रोशनी बमको घरमा पढ्न गएका बेला साउन १० गते हराएकी निर्मलाको साउन ११ गते नग्न अवस्थामा शव फेला परेको थियो। कंचनपुरका एसपी दिनेश आचार्यले सो घटनामा अहिलेसम्म कुनै ठोस तथ्य फेला पर्न नसकेको बताएका छन्।

प्रकाशित: १३ चैत्र २०७५ ०१:४६ बुधबार

सिआइबी अंगुर_जिसी कंचनपुर_जिल्ला_अदालत बयान