समाज

अछाममा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

अछाममा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनको झाँतामा दोहोरो गाेली हानाहान भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार सुरुमा प्रहरीले गोली चलाएको र विप्लवका कार्यकर्ताले जवाफी गोली चलाएको हो। दिउँसो गोली हानाहान भएको हो।

विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको प्रहरीले जनाएकाे छ। 

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी छन्। 

बाटुलासेनमा विप्लव समूहका कार्यकर्ता लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको जनाएकाे छ। प्रहरीले त्यहाँँबाट चारै जना पक्राउ गरेको छ। 

अहिले दोहोरो भिडन्त भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारएिको छ। चन्द समूह लुकेर बसेको शंकाका आधारमा प्रहरीले केही दिनअघिदेखि नै उनीहरुको खोजी गरिरहेको थियो। साथै जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

हाताहात र घाइते भएको बारे थप विवरण आउन बाँकी छ। 

 

प्रकाशित: १२ चैत्र २०७५ १५:५९ मंगलबार

गाेली विप्लव हानाहान