समाज

पाथीभरा क्षेत्रबाट धमाधम फिर्ता हुँदै मदिरा

ताप्लेजुङ - सर्वपक्षिय बैठकले पूर्वको पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिराको प्रयोग र बिक्री वितरण बन्द गर्ने निर्णय गरेसँगै पाथीभरा क्षेत्रका व्यवसायीले आफूसँग रहेको मौज्जाद मदिरा धमाधम थोक विक्रेतालाई फिर्ता गर्न थालेका छन्। 

सोमबार माथिल्लो फेदीका व्यवसायीले मदिरा फिर्ता गरेको भोलिपल्ट मंगलबार काफ्ले पार्टी र भालुगौंडेका व्यवसायीले पनि फिर्ता गरेका छन्। पाथीभरा क्षेत्र होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने गरी भएको सर्वपक्षीय बैठकको स्वागत र सम्मान गर्दै यो क्षेत्रका व्यवसायीले आफूहरूसँग रहेको मौज्जाद मदिरा खरिद गरिएका थोक पसललाई फिर्ता गरेको जानकारी दिए।

उनले पाथीभरा क्षेत्रको महत्व र गरिमा बढाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको बैठकबाट पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने गरी भएको निर्णय स्वागतयोग्य भएकोले मौज्जाद मदिरा फिर्ता गरिएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले पाथीभरा क्षेत्रका व्यवसायीले निर्णयको सम्मान गर्दै आफूसँग भएको मौज्जाद मदिरा सम्बन्धित थोक विक्रेतालाई फिर्ता गरेर पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउन सहयोगी भूमिका निर्वाह गरेको बताए। उनले पाथीभरा क्षेत्रमा मदिराको प्रयोग र विक्री वितरणबारे सुरक्षा संयन्त्रबाट सुक्ष्म निगारानी भइरहेको र त्यहाँबाट व्यवसायी समेतले यो अभियानमा साथ दिएकोमा प्रसन्नता व्यक्त गरे।

गएको फागुन २६ गते प्रजिअ भण्डारीको अध्यक्षतामा बसेको बैठकले चैत १ गतेबाट लागू हुनेगरी पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने निर्णय गरेको थियो।

प्रकाशित: १२ चैत्र २०७५ ०७:३५ मंगलबार

पाथीभरा मदिरा  फिर्ता