समाज

भण्डारा अस्पतालमा डाक्टर आएनन्

स्वास्थ्य चौकीबाट स्तरोन्नित गरिएको भण्डारा अस्पताल। तस्बिरः सविता/नागरिक

चितवन - चितवनको राप्ती नगरपालिका–५ स्थित भण्डारा स्वास्थ्य चौकी स्तरोन्नित गरी अस्पताल बनाइएको दुई महिना हुन लाग्दा पनि डाक्टर आएका छैनन्। १५ शड्ढया क्षमतामा स्तरोन्नित गरिएको भण्डारा अस्पताल गत माघ १६ गते उद्घाटन गरिएको थियो।

अस्पतालको प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे र प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका थिए। अस्पतालका लागि प्रदेश तीन सरकारले मेडिकल अफिसर डाक्टर हरिशंकर प्रसादलाई करारमा नियुक्त गरेको छ। तर डाक्टर प्रसाद कार्यभार सम्हाल्न हालसम्म अस्पताल आएका छैनन्। अस्पतालमा डाक्टर नहुँदा हेल्थ असिस्टेन्ट राजु विकले निमित्त प्रमुखको रूपमा जिम्मेवारी बहन गरिरहेका छन्। अस्पताल स्थापना भएपछि बिरामीको चाप बढेको विकले बताए। अस्पताल भइसकेपछि पनि साविक स्वास्थ्यचौकीबाट प्रवाह हुने सेवामात्र बिरामीलाई दिन सकिएको उनी बताउँछन्।

स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नित गरे पनि डाक्टर नआउँदा बिरामीको स्वास्थ्य उपचारमा समस्या देखिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बराल बताउँछिन्। अस्पताल स्थापनाका बेला स्थानीयमा खुसीयाली छाएको थियो। तर अस्पताल खुलेको दुई महिना दिन बित्दा पनि डाक्टर नआउँदा उपचारका लागि भरतपुर नै जानुपर्ने स्थानीयको बाध्यता यथावत् छ। भण्डारा अस्पतालमा धादिङको राक्सिराङ गाउँपालिका, चितवनको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका बिरामी स्वास्थ्य जाँचका निम्ति आउने गर्छन्। स्तरोन्नित भएको सूचना फैलिएपछि सो अस्पतालमा दैनिक ६० जना बिरामीहरू आउने गरेका छन्। बिरामीकै चापलाई ध्यानमा राख्दै स्थानीयस्तरमा डाक्टरबाट स्वास्थ्य सेवा दिन अस्पताल स्थापना गरिए पनि ढिलाइ भइरहेको मेयर बरालले बताइन्।

गाउँमै एक्सरे, भिडियो एक्सरे, आकस्मिक सेवा, बिरामी भर्ना सेवा, स्तरीय ल्याब सुविधासहितको सेवा उपलव्ध गराउन अस्पताल स्थापना गरिएको हो। भण्डारा अस्पतालका लागिका तत्काललाई एक डाक्टरसहित १५ जनाको दरबन्दीको व्यवस्था गरिएको छ। एक मेडिकल अफिसर, दुई हेल्थ असिस्टेन्ट, तीन स्टाफ नर्स, एक ल्याव टेक्निसियन, एक रेडियोग्राफर, दुई अनमी, दुई अहेव र तीनजना कार्यालय सहयोगीको दरबन्दी रहेको छ। अस्पतालमा अहिले अहेब विकसहित आठ कर्मचारी कार्यरत छन्। अस्पताल संचालनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित: १२ चैत्र २०७५ ०३:१७ मंगलबार

अस्पताल डाक्टर स्वास्थ्य_चौकी