समाज

विदुरमा स्थानीय आपतकालीन केन्द्र

नुवाकोट – स्थानीय सरकार सञ्चालन ऐन २०७४ एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले व्यवस्था गरेअनुसार नुवाकोटको विदुर नगरपालिकामा ‘स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र’ सञ्चालन गरिएको छ।

नगरपालिकाको अगुवाइमा जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय जिआइजेड सिडी–मुनको आर्थिक सहयोगमा सञ्चालनमा आएको केन्द्रबाट हप्ताको सातै दिन, चौबिसै घण्टा सेवा प्रवाह हुने बताइएको छ। केन्द्रमा ट्युबोलर ब्याट्री, क्लाइम्बिङ रोप, साइरन, आपतकालीन टर्च लाइट, हेन्ड माइक, एक्सटर्नल ड्राइभ, कम्बल, फायर एक्सटेन गुसर, लाइफ ज्याकेट, स्टे«चर जस्ता ३१ प्रकारका सामग्रीहरू भण्डारण गरिएको छ।

विपद् नियन्त्रण बाहिर र अपर्झट हुने भएकाले त्यस्ता घटना भइहालेमा उद्धार गर्न र क्षति हुनबाट जोगिन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। ‘आगलागी, बाढी, पहिरो, भूकम्पजस्ता विपद् आएमा नागरिकहरूको फोन आउँछ। घटनाको बारेमा प्रहरीलाई जानकारी गरायो तर उद्धारको सामान प्रयाप्त नहँुदा समस्या हुने गरेको छ,’ थापाले भने, ‘विपद पर्दा उद्धार गर्ने दक्ष जनशक्तिको अभाव छ। केन्द्रले त्यता पनि ध्यान दियो भने झनै बढी प्रभावकारी हुनेछ।’

विदुर नगरपालिकामा २०५४ सालमा खरिद गरेको एउटा दमकल भए पनि प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको छ। प्रदेश सरकारले स्थानीय तहलाई चाँडै एम्बुलेन्स तथा दमकल उपलब्ध गराउने घोषणा गरेकाले विपद् व्यवस्थापनमा केही सहज हुने आशा पलाएको नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए।

प्रकाशित: १२ चैत्र २०७५ ०३:१२ मंगलबार

स्थानीय_सरकार विदुर_नगरपालिका आपतकालीन_केन्द्र