समाज

प्रशासन प्रमुखबाट पदस्थापनाको काम सुरु

काठमडौं - सरकारले स्थानीय तहका प्रशासन प्रमुखबाट संघमा समायोजन गरिएका कर्मचारीहरूको पदस्थापनाको काम सुरु गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहलाई पहिलो प्राथमिकता दिई नगरपालिका/गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने काम अघि बढेको छ। समायोजन गरिएका कर्मचारीलाई समायोजनको चिठी दिइएको २१ दिनभित्र सम्बन्धित ठाउँमा खटाइसक्नुपर्ने कर्मचारी समायोजन ऐन २०७५ मा गरिएको व्यवस्थाअनुसार मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतबाट पदस्थापनाको प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयका सहसचि तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख रूद्रसिंह तामाङले समायोजनपछि संघमा समायोजन गरिएका कर्मचारीमध्ये प्रमुख प्रशासकीय अधिकृतबाट पदस्थापना गर्ने काम सुरू भएकोे बताउदै एक हप्ताभित्रै सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटिसक्ने बताए। प्रमुख प्रशासकीय अधिकृतपछि सरकारले गृहमन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, अख्यितार, प्रधानमन्त्री कार्यलय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयलाई प्राथमिकता दिई पदस्थापनाको काम अघि बढाइने उनले बताए। त्यसपछि अन्य कार्यालयहरूमा कर्मचारी खटाइने पनि उनले जनाए।

नगरपालिकामा उपसचिव तथा गाँउपालिकामा शाखा अधिकृत तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। जसमा २ सय ७० उपसचिव तथा ४ सय ६० शाखा अधिकृतको आवश्यक पर्छ। प्रदेश प्रमुख सचिव, प्रदेश सचिव स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारको मातहतमा रहने व्यवस्था कर्मचारी समयोजन ऐनमा व्यवस्था गरिएको छ। सोअनुसार प्रदेश प्रमुख सचिव र प्रदेश सचिवको पदस्थापनाको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मेयरसँग विवाद भएका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फर्ने तयारी भएको छ। आधाजसो स्थानीय तहमा मेयर ÷अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतवीच झगडा सुरू भएको छ। प्रमुख प्रशासकीय अधिकृतहरू संघको मातहमात रहने व्यवस्था गरिएपछि मेयर÷अध्यक्षले आफ्नो मातहतका प्रमुख प्रशासकीय अधिकृत फेर्न पाउँदैनन्। त्यसैले केही मेयर÷अध्यक्षहरू आफनो नगरपालिका ÷गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न मन्त्रालयमा डेलिगेशन समेत लिएर आउने गरेका छन्।
‘मेयर र प्रमुख प्रशासकीय अधिकृबीच झगडा भएका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका बारेमा हामी बुझ्छौ। बास्तविकता बुझेर कर्मचारीको कमीकमजोरी देखिएमा परिवर्तन गर्छौ।’ अधिकारीले भने, ‘तर प्रमुख प्रशासकीय अधिकृतको कमीकमजोरी नदेखिई जनप्रतिनिधिले वास्तविकता नबुझनेको देखिएमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदैनन्।’ अधिकारीका अनुसार अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुनेछन्। उनले भने, ‘७ सय ५३ प्रमुख प्रशासकीय अधिकृतमध्ये ५ सयभन्दा बढी प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुने तयारी भएको छ।’ यसका लागि मन्त्राललयले सूची तयार गरिरहको छ। यो सबै काम एक हप्ताभित्र पूरा हुने मन्त्रालयका अधिकारीले जानकारी दिए।

प्रकाशित: १२ चैत्र २०७५ ०१:३९ मंगलबार

स्थानीय_तह कर्मचारी_समायोजन सामान्य_प्रशासन_मन्त्रालय पदस्थापना