समाज

महायज्ञबाट १० करोड संकलन

सोलुखुम्बु  – अस्पताल निर्माण सहयोगार्थ सोलुखुम्बुको मुक्लीमा सम्पन्न श्रीमत् भागवत ज्ञान महायज्ञबाट १० करोड रुपैयाँ संकलन भएको छ। थुलुङ दुधकोसी गाउँपालिकाको केन्द्र मुक्लीमा सुविधा–सम्पन्न ५० शड्ढयाको दुधकोसी सामुदायिक अस्पतालाका लागि चैत २ देखि ९ गतेसम्म संचालित महायज्ञबाट १० करोड ७७ लाख ४२ हजार रुपैयाँ सहयोग संकलन भएको हो।

थुलुङ राई समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा आयोजना गरिएको महायज्ञमा सहयोगी दाताहरूमध्ये केहीले नगद तथा चेक हस्तान्तरण गरेका छन् भने धेरैले प्रतिबद्धता जनाएका छन्। ९३ लाख खर्च भएको सो महायज्ञबाट २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भए पनि ५० प्रतिशत पूरा भएको भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार सहयोग संकलन अभियान निरन्तर जारी रहनेछ।

महायज्ञ समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले महायज्ञले सहयोग संकलनमा मात्र होइन सामाजिक सद्भाव वृद्धिमा पनि भूमिका खेलेको बताए। प्रदेश १ का सांसद उत्तमकुमार बस्नेतले जिल्लाको समृद्धि थुलुङ दुधकोसी गाउँपालिकाबाट सुरु भएको बताए।

चैत २ गते मुक्लीमा शिलान्यास गरिएको अस्पताल निर्माणका लागि करिब २४ रोपनी जग्गा निःशुल्क प्राप्त भइसकेको छ भने स्वदेश तथा विदेशका विभिन्न ठाउँमा सहयोग संकलन कार्य जारी रहेको छ। गाउँपालिका अध्यक्ष असिम राईले आगामी दुई वर्षभित्रै सुविधा–सम्पन्न सामुदायिक अस्पताल उद्घाटन गर्ने प्रतिबद्धता व्यक्त गरे। महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले भागवत् कथावाचन गरेका थिए।

प्रकाशित: ११ चैत्र २०७५ ०३:३१ सोमबार

थुलुङ_दुधकोसी_गाउँपालिका श्रीमत्_भागवत_ज्ञान_महायज्ञ