समाज

दुर्गम गाउँमा घुम्ती शिविर

रामेछाप – उमाकुण्ड गाउँपालिकाको वडा नं. १ र २ मा दुई दिन संचालन गरिएको घुम्ती शिविरबाट दुर्गम गुम्देल र बाम्ती गाउँका सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा दुई सय ४१ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।

जिल्ला प्रशासन कार्यालय रामेछापको संयोजन र उमाकुण्ड गाउँपालिकाको व्यवस्थापनमा आयोजित शिविरमा सदरमुकामसम्म झरेर नागरिकता बनाउन सहज नभएका सेवाग्राही गाउँमा नै सहज रूपमा नागरिकता पाउँदा दंग देखिन्थे।

शिविरमा नागरिकता प्रमाण–पत्र लिने र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेमा महिलाको संख्या बढी भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। शिविरमा एक सय ३५ महिला र एक सय छ पुरुषले नागरिकता लिए भने एक सय ४७ महिला र एक सय छ पुरुष गरी दुई सय ९१ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराए।

घुम्ती शिविरमा घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत उद्योगतर्फ २४ र वाणिज्यतर्फ २४ वटा फर्म दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिका अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए। जिल्लाको दुर्गम गाउँमा सहज सेवा दिन सरकारले प्रीतिमा इलाका प्रशासन कार्यालय स्थापना गरे पनि सेवा–प्रवाह नियमित र भरपर्दो नहुँदा हैरान बनेका स्थानीयका लागि घुम्ती शिविर ठुलै उपलब्धि भएको नेपाली कांग्रेसका झप्पडराज भण्डारीले बताए।

प्रकाशित: ११ चैत्र २०७५ ०३:१८ सोमबार

उमाकुण्ड_गाउँपालिका घुम्ती_शिविर नागरिकता