समाज

कर्णालीमा विप्लवका गतिविधि नियन्त्रणमा छन् : डीआईजी शाह

जुम्ला– कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले कर्णाली प्रदेशमा विप्लव समूहका सबै क्रियाकलाप नियन्त्रणमा रहेको दाबी गरेका छन्। कर्णालीको सुरक्षा अवस्था बुझ्दै जुम्ला पुगेका डीआईजी शाहले विप्लव समूहले अपराधिक क्रियाकलाप गर्न सक्ने ठाउँमा नियमित गस्ती टोली परिचालन गरिएको बताए।

‘जनतासँगको सम्बन्ध बलियो बनाउँदै गएका छौँ। आपराधिक गिरोहलाई निस्तेज पार्ने अभ्यासमा छौँ’, डिआईजी शाहले भने, ‘विप्लव समूहमा आवद्ध सबै भूमिगत अवस्थामा छन्। खुला रूपमा सभा, सम्मेलन, बैठक, छलफलका कुनै पनि कार्यक्रम गर्न सकेका छैनन्।’

 शाहले विप्लव समूह आफै आपराधिक समुह भएकोले यो समुहले गर्ने सबै क्रियाकलाप आपराधिक हुने भन्दै कुनै पनि आपराधिक समूहसँग संलग्न व्यक्ति स्वयम् अपराधी हुने बताए। त्यस्तै, अपराधिलाई कानूनअनुसार कारवाहीअघि बढाउने डिआईजी शाहको भनाइ छ। 
 शाहले प्रहरी चौकीमाथि हुनसक्ने संभावित आक्रमणतर्फ संकेत गर्दैे त्यसको प्रतिरोध गर्ने बताए। त्यस्तै, कुनै पनि अपराधिक समूहले चन्दा माग्ने, त्रास दिने क्रियाकलाप गरे सह्य नहुने उनको जोड छ। 

फागुन २३,२४ र २५ गते कर्णाली प्रदेशको सुरक्षा संयन्त्रको बैठक बसेर जनताको आवश्यकता र चाहना बुझ्न सबै जिल्ला जाने निष्कर्ष निकालेको थियो। डिआईजी शाहसँगै सशस्त्र प्रहरीका डिआईजी र राष्ट्रिय अनुसन्धान प्रहरीका कर्णाली प्रदेश प्रमुख जुम्ला पुगेका छन्। उनीहरुले सर्वसाधारण, जनप्रतिनिधि र सञ्चारकर्मीसँग सुरक्षा चुनौतीबारेमा छलफल गरेका थिए।

 

प्रकाशित: १० चैत्र २०७५ ०६:३७ आइतबार

कर्णाली महेशविक्रम_शाह विप्लव_समूह