समाज

अछाम–धनगढी हवाई सेवा सुचारु, यात्रा १७ मिनेट

अछाम – अछामको साँफेबगर र कैलालीको धनगढी पहिलो पटक हवाई सेवामा जोडिएका छन्। साँफेबगर बिमानस्थल कालोपत्रे भएपछि शुक्रबारबाट पहिलो पटक हवाई सेवा सुरु भएको हो। समिट एयरद्धारा पहिलो पटक धनगढीदेखि साँफेबगरसम्मको दोहोरो उडान भर्न सुरु गरेको छ।

फागनु २२ गते नेपालगञ्जदेखि साँफेबगर परिक्षण उडान गरेको समिट एयरले शुक्रबारबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो। नियमति उडान भएसँगै यस क्षेत्रका स्थानीयलाई आवत जावत गर्न सहज हुने छ। पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ।

यात्रुहरूको चाप हेरेर आगामी दिनमा हप्तामा ४ दिनसम्म उडान भर्न सकिने समिट एयरका प्रतिनिधि दिपक दुवालले जानकारी दिए।  धनगढीदेखि साँफेबगरसम्मका लागि ३ हजार ३ सय ५० रुपैयाँ भाडादर कायम  गरिएको दुवालले बताए।

नेपाल एयरलायन्सले नेपालगञ्जदेखि साँफेबगरका लागि नियमित उडान भर्दै आइरहेको छ। नेपाल एयरलायन्सले हप्तामा दुई दिन आइतबार र बिहीबार उडान गर्दै आइरहेको हो।

धनगढीबाट प्रदेश ७ का पहाडी जिल्लामा हवाई सेवा सुरु भएको अछाम नै पहिलो जिल्ला हो। धनगढी साफेबगर नियमित हवाइसेवा सुरु भएपछि अछामलगायत छिमेकी बाजुरा सम्मका यात्रुलाई आवतजावतमा सजिलो हुनेछ। धनगढी साफेबगरको हवाई यात्राको दुरी १७ मिनेटको रहेको छ।

प्रकाशित: ८ चैत्र २०७५ ०५:४२ शुक्रबार

साँफेबगर_बिमानस्थल हवाई_सेवा अछाम धनगढी समिट_एयर