वीरगन्ज - एक–अर्कालाई रङ–अबिर लगाउँदै र मिठो–मसिनो खाँदै–खुवाउँदै बिहीबार तराई–मधेसमा प्रेम र सद्भावको पर्व होली भव्य रूपमा मनाइएको छ। फगुवा पनि भनिने होली पर्वको अवसरमा अघिल्लो ‘समद’ अर्थात् होलिका दहन गरिन्छ भने भोलिपल्ट रङ–अबिर लगाउँदै हर्षोल्लासका साथ मनाउने गरिन्छ।
बिहीबा मनाउने क्रममा वीरगन्जका सडक र चोकहरूमा लाउड–स्पिकर बजाएर नाचगान गर्दै मानिसहरूले रङ–अबिर साटासाट गरे भने ग्रामीण क्षेत्रमा होरी गीत गाएर होली मनाइयो। होलीका अवसरमा भोजपुरीभाषी समाजमा जोगिरा पनि भनिने विशेष किसिमको लोक–संगीत गाउने–बजाउने प्रचलन रहेको लोकसंस्कृतिका जानकार उमाशंकर दधिची बताउँछन्।
वर्ष दिनको रिसराग त्यागेर मानिसहरू सम्बन्धलाई नवीकरण गर्ने सामाजिक प्रचलनका रूपमा होली पर्व मनाउने गरिन्छ। निधारमा अबिर दल्ने क्रममा मित्र वा सत्रु भनेर छुट्याइँदैन भने अबिर लगाएपछि अंकमाल गर्ने चलन छ। ‘पुराना झैझगडा र शत्रुतालाई समेत होलीको अवसर पारेर भद्र–भलाद्मीहरूले मिलाइदिने गरेका छन्,’ वीरगन्ज श्रीपुरका सामाजिक अगुवा सुन्दर कुर्मीले भने, ‘दुवै पक्षलाई होलीमा खानका लागि निम्तो दिएर बोलाउने र रङ–अबिर साटासाट र सहमति गराउने गरिन्छ।’
गाउँतिर महाशिवरात्रि लगत्तैदेखि हरेक साँझ गाउँ–गाउँमा फागुको लोकगीत ‘होरी’ गाउन सुरु हुन्छ। होलीका दिन गाउँभरि घुमीघुमी होरी गाइन्छ। होलीका बेला बारहमासा धुन विशेष लोकप्रिय छ। साँझ चैतावर गाएर होलीलाई एक वर्षको लागि बिदा गरिन्छ। शिवरात्रिको भोलिपल्टदेखि होलिका दहनका लागि ‘समद’ जम्मा गर्ने पनि चलन छ। ‘समद’मा पराल, दाउरा र काम नलाग्ने वस्तुहरू जलाउनका निम्ति संकलन गरिन्छ। सहरी क्षेत्रमा भने होलिका दहनकै दिन ‘समद’ बनाइन्छ।
फागुन शुक्लपक्ष चतुर्दशीको दिन बुधबार होलिका दहन गरेर तराई–मधेसको होली अर्थात ‘फगुवा’ सुरु भएको थियो। भक्त प्रह्लादलाई डढाएर मार्ने प्रपञ्च असफल भएको पौराणिक मिथकको सम्झनामा होलिका दहन गर्ने चलन छ। होलिका दहनसँगै ‘अपसगुन’ र ‘खराब वृत्ति’हरू जलेर नष्ट हुने विश्वास गरिन्छ। ‘समद’को आगोमा पोलेको अनाज (अन्न) गोठमा झुन्डाएमा कुप्रभावबाट गाईवस्तुको रक्षा हुन्छ भन्ने मान्यता पनि छ। मरवाडी समुदायले समदलाई विशेष महत्त्वका साथ पूजा गर्ने गर्छन्। र, भोलिपल्ट फागु पूर्णिमाको दिन स्नेह मिलन गरेर एक–आपसमा शुभकामना आदानप्रदान गर्ने गर्छन्।
प्रकाशित: ८ चैत्र २०७५ ०२:०५ शुक्रबार