समाज

बिहीबार परेका कारण लम्बियो तराईको होली

सर्लाहीको हरिवन, घुर्कौलीस्थित द्वन्द्ववपीडित बालगृहमा आश्रित बालबालिकासँग होली खेलेर रमाइलो गर्दै संचारकर्मी, सामाजिक अगुवालगायत। तस्बिर : नागरिक

सर्लाही - सदा एक दिन मात्र मनाइने तराईको महत्वपूर्ण पर्व होली यस वर्ष भने दुई दिन मनाइने भएको छ। यस वर्ष तराईको होली बिहीबार परेको र मधेसी समुदायको घरमा बिहीबारका व्रतालु हुने भएका कारण माछामासु नचल्ने भएपछि मिथिला क्षेत्रका सर्वसाधारणले शुक्रबार होली मनाउने तयारी गरेका छन्। मधेसी समुदायमा आइतबार, मंगलबार र बिहीबार अधिकांश घरमा व्रतालु हुने हुँदा माछामासु नचल्ने भएकाले यस्तो बेलामा होली पर्व भोलिपल्ट मनाउने प्रचलन रहेको मैथल संस्कृतिका जानकार रजनीकान्त झा बताउँछन्।

‘बिहीबार धेरैको घरमा काटमार हुँदैन,’ झाले भने, ‘त्यसैले धेरैजनाले शुक्रबार होली मनाउँछन्।’ जनकपुरमा अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट मिथिला क्षेत्रमा होली मनाउने प्रचलन रहेको र सो परिक्रमा कार्यक्रम पनि बिहीबार नै हुने भएकाले शुक्रबार होली मनाउने तयारी रहेको उनले बताए। ‘बुधबार नौ बजेपछि मात्र पूर्णिमा तिथि लागेकाले परिक्रमा कार्यक्रम बिहीबार स-यो,’ उनले भने, ‘त्यसैले धेरैले शुक्रबार मात्र होली खेल्ने छन्।’

– व्रतालु नहुने घरमा बिहीबार, व्रतालु हुने घरमा शुक्रबार होली
– बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा

पहाडे समुदायले घर–घरमा खसी–बोका काटमार गरेर दसैं मनाएजस्तै मधेसी समुदायले होलीलाई दसैंजत्तिकै महत्वपूर्ण पर्वको रूपमा मनाउँछन्। गच्छेअनुसार हरेक घरमा खा काटमार गर्ने र परिवारका सबै सदस्यले आपसमा रङ–अबिर दलेर उल्लासपूर्ण ढंगले होली पर्व मनाउने गरिन्छ। तर यसवर्ष बिहीबार परेकाले महिला र वृद्धवृद्धाको सहभागिता नहुने भएपछि होलीको उमंगमा निकै कमि आएको झाले बताए।

पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन भए पनि यस वर्ष बिहीबार र जनकपुरमा हुने अन्तरगृह परिक्रमा कारण मधेसी समुदायबीच होली पर्व बाँडिएको छ। घरमा व्रतालु नहुने घरमा भने बिहीबार होली मनाइयो भने व्रतालु हुने घरमा शुक्रबार मनाउने स्थानीयले बताएका छन्। २ नम्बर प्रदेश सरकारलेसमेत होली पर्वका लागि भन्दै बिहीबार र शुक्रबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। होली मनाउने विषयमा मधेसवासी विभागित भएपछि प्रदेश सरकारले दुई दिन नै सार्वजनिक बिदा दिएको हो। यस वर्ष होली पर्वको उत्सवले तराई–मधेसलाई तीन दिन छोएको छ। जिल्लामा पहाडे समुदायको समेत उल्लेख्य बसोबास रहेकाले कतिपय मधेसी समुदायका सर्वसाधारणले बुधबार पनि जमेर होली मनाएका थिए।

प्रकाशित: ८ चैत्र २०७५ ०१:५८ शुक्रबार

तराई होली मिथिला_क्षेत्र