समाज

अपहरण–हत्या काण्डका दोषी ६ वर्षपछि पक्राउ

नेपालगन्ज–  अपहरण पश्चात फिरौती लिएर हत्यामा संलग्न रहेका एक ब्यक्ति करिब ६ वर्षपछि पक्राउ परेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी २२ बर्षिय मुन्नु अन्सारीलाई अपहरण गरी हत्यामा संलग्न रहेका बाँके, जानकी गाउँपालिका वडा नम्बर ३ ईन्द्रपुर निवासी ५० बर्षिय ‘मुल्ला’ भन्ने निजामुद्धिन साईलाई प्रहरीले नेपाल–भारत जमुनाहा नाकाबाट पक्राउ गरेको हो। पक्राउ परेका निजामुद्धिनलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ। 

प्रहरीका अनुसार निजामुद्धिन सहितको अपराधिक समुहले २०६९ असार २६ गते मुन्नुलाई अपहरण गरी भारतमा लगेर बन्धक बनाई परिवारबाट ९ लाख फिरौती रकम लिई हत्या गरेको थियो। घटनामा संलग्न रहेका साई लामो समयदेखि फरार रहँदै आएका थिए। अपहरण तथा शरीर बन्दक मुद्दामा प्रतिवादी निजामुद्धिन विरुद्ध बाँके जिल्ला अदालतले दोषी ठहर गरी २०७२ माघ २ गते ९ वर्ष कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो। 

उक्त घटनामा संलग्न मध्ये इन्द्रपुरकै रंगौ भन्ने रिजवान साई यसअघि नै पक्राउ परी हाल कारागार शाखा नेपालगन्जमा छन्। यस्तै घटनामा संलग्न कम्दी निवासी २८ बर्षिय बकरिदी शेख, सोही ठाउँका २२ बर्षिय झल्लु धोबी, भारत बहराइच मिहीपुर्वा थाना मोतिपुर बस्ने ३० बर्षिय ईरसाद खान, सोही ठाउँका ३८ बर्षिय मोईन कुरेसी र ३८ बर्षकै सिराजुल रहमान अन्सारी फरार रहेका छन्। 

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ईन्द्रपुर निवासी सुष्मा बर्मा साधारण तारेकमा र भवानियापुर ८ बस्ने प्रमोद गिरी भने अदालतको पुनरावेदनबाट छुटिसकेका छन्। कार्यालयका प्रमुख एसपी अरुण पौडेलले अदालतको फैसलाबाट दोषी ठहर भई कैद र जरिवाना सुनाइएका निजामुद्धिन अन्ततः कानुनको कठघरामा आएको बताए। 

‘घटनामा संलग्न भएदेखी नै फरार रहेको निजामुद्धिन लामो समयदेखी भारतीय भुमिमा लुक्दै आएको र कहिले काही घर परिवारलाई भेटघाट गर्न आउने गरेको सूचना हामीलाई प्राप्त भइरहेको थियो, उसको निगरानी बढाईरहेको अवस्थामा जमुनाहा नाकाबाट पक्राउ गर्न सफल भयौं,’ उनले भने। अपराध गरी जति वर्ष लुकेर बसे पनि कानुनले कसैलाई पनि नछाड्ने एसपी पौडेलले बताए। घटनामा संलग्न रहेका अन्य प्रतिवादी पनि पक्राउ परेर छाड्ने उनले ठोकुवा पनि गरे। ‘अपराध गरेको ब्यक्ति जति दिनसम्म लुकेर बसेपनि एक दिन अवश्य पनि कानुनी कठ्घरामा उभिन्छन्,’ पौडेलले भने। 

पत्रकार सम्मेलनमै उपस्थित भएका मुन्नुका दाजु नासिर अन्सारीले ढिलै भए पनि अपराधी कानुनको कठ्घरामा आएकोमा आफ्नो मनलाई सान्त्वना दिए। ‘मेरो भाईलाई अपहरण गरी अपराधीले हामीसँग फिरौती समेत लिएका थिए, तर भाईलाई सकुशल छाडेनन्,’ उनले भने, ‘यस्ता अपराधीले भोलिका दिनमा पनि घटना नदोहो-याउन कडा भन्दा कडा सजाय गरियोस्।’

जिल्ला प्रहरी कार्यालयले करिव एक दशक अघि अपहरणमा परेका ब्यवसायी गौरव कृष्ण रस्तोगीको घटनामा संलग्न ब्यक्तिको भने अझैसम्म पहिचान गर्न सकेको छैन। प्रहरी प्रमुख पौडेलले गौरव कृष्ण अपहरण काण्डको रहस्य पनि पत्ता लगाएरै छाड्ने दाबी गरेका छन्। तत्कालिन माओबादीको द्धन्द्ध पश्चात पनि तराई क्षेत्रमा उत्पन्न भएका अपराधिक समुहले राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै नेपालगन्जमा थुप्रै ब्यक्तिको हत्या तथा अपहरण गरेका थिए।

प्रकाशित: ७ चैत्र २०७५ १५:०२ बिहीबार

अपहरण हत्या मुन्नु_अन्सारी नेपालगन्ज_उपमहानगरपालिका