समाज

कास्कीमा होली शान्तिपूर्ण, होहल्ला गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडियो

पोखरा– पोखरामा होली अवसरमा नियम उल्लंघन गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ। रंगहरुको पर्व होलीमा झैझगडा गर्ने, मापसे गरेर होहल्ला गर्ने, उच्छृङ्ल व्यवहार गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडिएको कास्की प्रहरीले जनाएको हो। विहानदेखि दिउँसोसम्म नियन्त्रणमा लिइएका उनीहरुलाई साँझ परिवारको जिम्मा लगाएर पठाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।

त्यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने ५० वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ। हेलमेट नलगाउने, जिकज्याक गरेर चलाउने, स्कुटर र मोटरसाइकलमा २ जनाभन्दा बढी सवार गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिइएको प्रवक्ता गुरुङले जानकारी दिए। उनीहरुलाई कारवाही स्वरुप जरिवाना तिराएर छाडिने उनले बताए।

कास्कीमा होलीको अवसरमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको थियो। शान्ति सुरक्षाका लागि नेपाल प्रहरीका ५ सय ७ जना र सशस्त्र प्रहरीको करीब १५० जना खटाइएको प्रवक्ता गुरुङले बताए। उनले ८ वटा मेट्रो टोली र २५ वटा मोवाइल टोली तथा बाँकीलाई पैदल गस्तीमा खटाइएको बताए। यसैगरी पोखराका विभिन्न नाका तथा सहरी क्षेत्रमा ४४ ठाउँमा चेकिङ राखेर ट्राफिक चेकजाँच गरिएको पनि उनले बताए।

कास्कीमा सामान्य झैझगडाबाहेक शान्तिपूर्ण रुपमा होली सकिएको प्रवक्ता गुरुङले जानकारी दिए। उनले भने, ‘सामान्य झैझगडाबाहेक कास्कीमा शान्तिपूर्ण रुपमा होली सम्पन्न भयो।’ लेकसाइड क्षेत्रमा नसोंचेको भीड भए पनि शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल भएको उनले बताए।

प्रकाशित: ६ चैत्र २०७५ १२:४९ बुधबार

होली पोखरा होहल्ला पक्राउ