समाज

बोलेरोले जेब्राक्रसिङमै ठक्कर दिँदा विद्यार्थीको मृत्यु, सडक अवरुद्ध

चितवन– पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा बालकको मृत्यु भएको छ। रत्ननगर १० कै कैलाश टोलका १४ वर्षीय वसन्त थापालाई ना ४ च ५००७ नम्बरको बोलेरोले बिहान ९ः३० बजे ठक्कर दिएको थियो। 

बालक लाइसीयम इन्टरनेशनल मोर्डन स्कुलमा आठ कक्षामा अध्ययनरत थिए। अहिले आफन्त र विद्यार्थीले पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा सडक अवरुद्ध गरेर विरोध गरेका छन्। चालकलाई कारबाही र क्षतिपूर्तीको माग राख्दै १२ः३० बजेबाट सडक अवरुद्ध गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।

एक तर्फ मात्र रोकिएको सडक पछि दुई तर्फी नै अवरुद्ध गरेर विरोध भैरहेको उनले बताए। बालकलाई साइकलमा बाटो पार गर्ने क्रममा जेब्राक्रसिङमा बोलेरोले ठक्कर दिएको ज्ञवालीले जानकारी दिए। दुर्घटनामा घाइते भएका बालक थापालाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको थियो। डाक्टरले बिहान १०ः०५ बजे बालकलाई मृत घोषित गरेका थिए। 

बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोलेरोमा आगजनी गर्न खोज्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। स्थानीय जनप्रतिनिधिको रोहवरमा नियन्त्रणमा लिइएका व्यक्ति छाडिए पनि अवरुद्ध सडक खुल्न सकेको छैन। 

प्रकाशित: ४ चैत्र २०७५ ०९:०९ सोमबार

दुर्घटना बोलेरो बालक मृत्यु