समाज

पत्रकारद्वारा आन्दोलनको चेतावनी

सर्लाही - सामुदायिक रेडियो हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई तुरुन्त पक्राउको माग राख्दै पत्रकारहरूले आइतबार दिउँसो सर्लाही जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा ¥यालीसहित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा पुगेका पत्रकारहरूले दिउँसो साढे एक बजेदेखि आधा घण्टा धर्ना दिएका हुन्। जिल्ला अदालतबाट वारेन्ट पुर्जी जारी भइसके पनि दियालीमाथि सांघातिक आक्रमण गर्ने मुख्य अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी–प्रशासन उदासिन बनेको पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले आरोप लगाए।

‘दियालीमाथि सांघातिक आक्रमण गरेको ३५ दिन र जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको ६ दिन बितिसक्दासमेत घटनामा संलग्न मुख्य दुई अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन मौन देखिएको छ,’ अध्यक्ष ठाकुरले चेतावनी दिँदै भने, ‘आज आधा घण्टा मूलगेटमा धर्ना बसेर सांकेतिक विरोध प्रदर्शन गरेका हौं, अब हामी चरणबद्ध आन्दोलनको घोषणा गर्ने तयारीमा छौं।’ गत माघ २९ गते पत्रकार दियालीमाथि दुई जनाले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। आक्रमणमा परी दियालीको तीनवटा दाँत फेर्नुपरेको थियो भने आँखा, टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। हरिवन नगरपालिका–११ का २० वर्षीय इरफान देवानले फोन गरेर चिया खान बोलाएको ठाउँ सुखेपोखरी जाँदा पत्रकार दियालीमाथि सांघातिक आक्रमण भएको थियो।

गत फागुन २८ जिल्ला अदालत सर्लाहीका न्यायाधीश शिवप्रसाद खनालको इजलासले आक्रमणमा संलग्न आरोपी देवानलाई तीन लाख ५० हजार धरौटीसहित तारेखमा छाड्न आदेश दिएको थियो। आक्रमणमा संलग्न मुख्य अभियुक्त बागमती नगरपालिका–१ का समीर गुरुङ र हरिवन नगरपालिका–९ का भीमप्रसाद रेग्मीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले मुख्य अभियुक्त दुईजनाको खोजी कार्य जारी रहेको भन्नेबाहेक कुनै प्रगति देखाउन सकेको छैन। प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र जिल्ला प्रहरी प्रमुख गोपाल चन्द्र भट्टराईले फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको बताउँदै आएका छन्।

प्रकाशित: ४ चैत्र २०७५ ०२:२४ सोमबार

सामुदायिक_रेडियो आक्रमण पत्रकार आन्दोलन