समाज

फोहोर गाडीमा हाल्ने भन्दा झाडीमा फाल्ने बढी

सिन्धुली – सदरमुकाम सिन्धुलीमाढीको मुख्य बजार क्षेत्रकै किनारबाट बग्ने गौमती (ग्वाङ) खोलामा फोहोरै फोहोरको डंगुर भएको छ। बजार क्षेत्रका स्थानीय तथा अन्य स्थानका बासिन्दाले फोहोरलाई उचित व्यवस्थापन गर्नुको साटो खोलामै कुहिने तथा नकुहिने फोहोर जथाभावी फ्याक्दा खोला दुर्गन्धित हुन थालेको हो।

खोलामा जथाभावी फोहोर फ्याक्दा दुर्गन्ध भएपछि कमलामाई नगरपालिकाले सरसफाईमा चासो देखाएको छ। करिब एक वर्ष अगाडि केही साता निरन्तर सफा गरिएको गौमती खोला पुन सरसफाईमा ध्यान नदिँदा फोहोरमा परिणत भएको छ। जसले गर्दा पानी दुर्गन्धित हुन थालेको छ। मरेका पशुपन्छी, प्लाष्टिकजन्य फोहोर तथा अन्य फोहोरको उचित व्यवस्थापन गर्नुको साटो स्थानीयले साँझ बिहान खोलामा फ्याक्ने गर्दा खोला दुर्गन्धित हुँदै गएको हो।

केही दिन अगाडि कमलामाई नगरपालिकाको अगुवाईमा फोहोर सम्बन्धि भएको पारम्भीक स्थलगत अवलोकनमा खोला भरी फोहोरै फोहोर भेटिएको कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकालले जनाए। उनका अनुसार खोलामा बढी चहलपहल हुने क्षेत्रमै फोहोर देखिएको छ। मरेका कुखुरा फाल्ने ठाँउ खोलानै बनेको जस्तो देखियो, उनले भने, जथाभावी फोहोर फ्याकेको पाइएको छ।

फोहोर उठाउँन तथा फोहोर व्यवस्थापन गर्नका लागि नगरपालिकाले नियमित फोहोर उठाउने गाडी टोलटोल तथा बजारमा पठाउने गरेको भए पनि खोलामा फोहोर मिल्काउने धेरै भएको नगरपालिकाले जनाएको छ। हामीले नगरका टोलटोल र बजारमा फोहोर उठाउन नियमित गाडी पठाउँछौ, कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले भने, तर गाडीमा हाल्ने भन्दा झाडीमा फाल्ने बढेकाले समस्या भएको हो। उनका अनुसार खोलाको साइडमा थोरै झाडी देखिए त्यहि स्थानमा बढी फोहोर मिल्काउने गरेको पाइएको जनाए।

खोला अत्याधिक फोहोर भएपछि कमलामाई नगरपालिकाले ग्वाङखोला बढ्दो प्रदुषण र निराकरण चुनौती विषयक अन्तरक्रिया कार्यक्रमनै आयोजना गरेको थियो। खोलामा जथाभावी पशुबध गरेको र त्यसबाट निस्कने फोहोर समेत खोलामै मिल्काउने प्रवृत्ति बढेकाले थप फोहोर भएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताए। बढी मानिसको ओहोरदोहोर हुने क्षेत्र र पुलको आसपास फोहोर मिल्काएको पाइयो, उनले भने, निश्चित क्षेत्रमा सीसी क्यामेरा राखेर फोहोर खोलामा फ्याक्नेलाई कारवाही हुनुपर्छ।

धुराबजार टोल सुधार समितिका जयमान तामाङले खोलामा फोहोर फ्याक्ने मात्र नभएर खोला मिच्ने काम समेत भएकाले दीर्घकालीन योजना बनाएर खोलाको संरक्षण गर्नुपर्ने धारणा राखे। जनसंख्या वृद्धिसँगै खोला मिचेर घर बनाउने तथा घडेरी बेच्ने काम धमाधम भएकाले सरसफाईसँगै यसलाई रोक्ने काम समेत गर्नुपर्ने बताए। 

 

प्रकाशित: ३ चैत्र २०७५ १०:०८ आइतबार

सिन्धुलीमाढी गौमती_खाेला फोहोर गाडी