समाज

एकीकृत बस्ती ठड्याउँदै विस्थापित

सेलाङ (सिन्धुपाल्चोक) - भर्खरै बनेका ‘इन्टरलक’ इँटालाई पानी खुवाउन कामदारलाई निर्देशन दिँदै गर्दा गिटी, बालुवा बोकेका दुई टिपर आइपुगे। सामग्री खन्याउने ठाउँ देखाउन सोबले तामाङ त्यतै कुदिहाले। अब ल्याउनुपर्ने सामग्री र परिमाण टिपाएर ट्रिपरवालालाई बिदाइ गरेपछि उनी सिधै झ्यालढोका बनिरहेको ठाउँ हानिए। तीव्र गतिमा अघि बढिरहेको फर्निचरको काम देखेर मक्ख भइरहँदा उनलाई फलामे छड कटिङ भइरहेको ठाउँ पुग्ने हतारोले छोइहाल्यो।

सोबले सेलाङ एकीकृत बस्ती विकास समितिका संयोजक हुन्। उनकै नेतृत्वमा स्थानीय काफ्लेडाँडामा १९ घरधुरीको एकीकृत बस्ती ठडिइरहेको छ। ‘अहिले ढिलासुस्ती गरे पाँचौ बर्खा पनि भलबाढी सोहोर्दै टहरोमै बस्न बाध्य हुनुपर्छ,’ पुनर्निर्माणमा खटिइरहँदा भेटिएका सोबलेले हतारिनुको कारण खुलाउँदै भने। आगामी बर्खाअगावै पक्की घरमा प्रवेश गर्ने समयसीमा निर्धारण गरेको छ बस्ती विकास समितिले। त्यसैले नेता हुनुको नाताले उनलाई अरूलाई भन्दा बढी काममा हतारो र चटारो छ। भूकम्पबाट थातथलो छोडेर यहाँ विस्थापित जीवन गुजारीरहेका पीडितहरुका लागि साढे दुई महिनादेखि एकीकृत बस्ती पुनर्निर्माणको काम भइरहेको हो।

बस्तीमा बन्ने सबै घरको जग खनेर भुइँ संरचना (डिपिसी) को काम सुरु भएको संयोजक सोबलेले बताए। ‘इन्टरलक इँटा प्रयोग हुने भएकाले घर संरचना छिट्टै तयार हुनेमा विश्वस्त छौं,’ साढे तीन वर्षभन्दा बढी समयदेखि अस्थायी टहरोमा आश्रित उनले भने। स्थानीय साझेदार जनहित ग्रामीण सेवा समितिसँगको समन्वयमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको आर्थिक तथा प्राविधिक सहयोग विस्थापित शिविरमै एकीकृत बस्ती विकास भइरहेको हो। एकीकृत बस्ती बसाल्न दाता अक्सफामले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको साझेदार जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार बस्तीमा १७ तामाङ र दुई दलित परिवार बस्नेछन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृति दिएसँगै जुगल गाउँपालिकाले निर्माणस्थलसम्म पुग्ने सडक ट्र्याक खनिदिएपछि पुसदेखि बस्ती निर्माण थालिएको हो।

सेपगाउँको जमिन भूकम्पले चर्काउनुका साथै पहिरोसमेत निम्त्याएपछि असुरक्षित महसुस गर्दै पीडित २०७२ वैशाख १५ गते काफ्लेडाँडामा विस्थापित भएका थिए। प्राधिकरणको विज्ञ टोलीले सेपगाउँ जोखिममा रहेको औंल्याउँदै पीडितलाई अन्यत्र पुनःस्थापना गर्न सुझाएको थियो। प्राधिकरणले उपलब्ध गराएको अनुदानले पीडितले मंसिरमै घडेरी किनेका थिए। प्राधिकरणले उपलब्ध गराएको पहिलो किस्ताको ५० हजार रुपैयाँ उनीहरूले घडेरी खार्न खर्चिए। बस्ती विकासमा दाताले सहयोग गरेकाले उनीहरूले प्राधिरणबाट बाँकी अनुदान किस्ता भने पाउनेछैनन्। बस्तीमा प्रयोग हुने इन्टरलक इँटा निर्माणस्थलमै बनिरहेका छन्। दैनिक हजारका दरले इँटा उत्पादन भइरहेको समितिले जनाएको छ। बाहिरी जिल्लाबाट झिकाइएका तालिम प्राप्त १५ कामदार इँटा बनाउन जुटिरहेका छन्। निर्माणस्थलमै झ्याल, ढोका तयार हुँदै छन्। घरको संरचना निर्माणमा दैनिक ३० जना स्थानीय खटिइरहेका छन्। ‘भुइँतले घर बरान्डासहित चार कोठाको बन्नेछ,’ साझेदार संस्था जनहितका कार्यकारी निर्देशक शर्माले भने, ‘बस्तीमा एक घर, एक धारा र शौचालयको व्यवस्था गरिएको छ।’ दाताले नै मेसिनसहित इँटा बनाउने र सिकर्मी तालिम दिएका थिए।

हिमाली गाउँ सेलाङ भूकम्पबाट विस्थापित भएका पीडितहरूको सबैभन्दा ठूलो आश्रय शिविर थियो। यहाँको बाँसखर्क, काफ्लेडाँडा र आसपासमा सुरुमा ५ सय पीडित परिवारको शिविर थियो। पुनःस्थापनामा बेवास्था हुँदै गएपछि पीडितले शिविर छोड्दै गए। केही सुरुमा छोडेको जोखिमस्थलमै फर्के भने केहीले अन्यत्र घडेरी किनेर पुनःस्थापित भए। एकीकृत बस्ती बसाल्न लागेको काफ्लेडाँडाका पीडितसहित बाँसखर्क क्षेत्रमा अझै विस्थापित ६० पीडित परिवार आश्रित छन्। उनीहरू अझै अस्थायी शिविरमा कष्टकर दैनिकी चलाउँदै आएका छन्।

प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले दुईपटक यहाँका विस्थापितका शिविरमा रात बिताउने क्रममा पीडितलाई एकीकृत बस्ती बनाएर बसाल्ने प्रतिबद्धता जनाएका थिए। नेकपाका नेता अग्नि सापकोटा, नायक राजेश हमाललगायत व्यक्तित्वले धेरै रात पीडितसँगै बिताएर उनीहरुको समस्या उजागर गरेका थिए।

प्रकाशित: २ चैत्र २०७५ ०१:२४ शनिबार

भूकम्प पुर्ननिर्माण एकीकृत_बस्ती