समाज

६ महिनामा १६ नवजात शिशुको मृत्यु

खोटाङ – खोटाङमा ६ महिनाको अवधिमा १६ नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। गत अगष्टदेखि मार्चसम्म जिल्लामा २८ दिनमुनिका १६ नवजात शिशुको मृत्यु भएको वनहर्ट वल्डवाईडले जनाएको छ। महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीमार्फत प्राप्त भएको सूचनाका आधारमा नवजात शिशुको मृत्यु भएको पुष्टी गरिएको वनहर्ट वल्डवाईडका खोटाङ संयोजक सुर्य उप्रेतीले बताए।

वनहर्टले विगत ६ महिना यता सञ्चालन गरेका क्रियाकलाप तथा सन् २०१९ को जनवरीदेखि डिसेम्बरकाबीचमा सञ्चालन गरिने क्रियाकलापका बारेमा जानकारी दिन आयोजना गरेको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा नवजात शिशु मृत्युको भयावह तथ्यांक सार्वजनिक गरिएको हो। नवजात शिशुको मृत्यु भएको जानकारी आएपछि सम्बन्धित घरमा पुगेर पुष्टी गरिएको वनहर्टले जनाएको छ।

मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि काम गर्दै आएको वनहर्टका अनुशार ६ महिनाको अवधिमा बराहपोखरी र खार्ताम्छामा एक–एक जना सुत्केरी महिलाको मृत्यु भएको छ। अधिकांश नवजात शिशुको इन्फेक्सन र निमोनियका कारण मृत्यु भएको पाइएको संयोजक उप्रेतीले बताए। 

बर्थिङ सेन्टर र गाउँघर क्लिनिकलाई उपकरण
वनहर्ट वल्डवाईडले खोटाङका बर्थिङ सेन्टर र गाउँघर क्लिनिकलाई आवश्यक उपकरण प्रदान गरेको छ। वनहर्टले जिल्लाका १५ वटा बर्थिङ सेन्टर र १२ वटा गाउँघर क्लिनिकलाई आवश्यक उपकरण प्रदान गरेको जनाएको छ। वनहर्टले मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि गत अगष्टदेखि मार्चसम्ममा बर्थिङ सेन्टर र गाउँघर क्लिनिकलाई उपकरण प्रदान गर्नुका साथै तीन वटा बर्थिङ सेन्टर मर्मत–सम्भारको काम गरेको जानकारी दिएको छ।

वनहर्ट वल्डवाईडका संयोजक उप्रेतीले ६ महिनाको अवधिमा खोटेहाङ गाउँपालिकालाई बोकेर हिँड्न मिल्ने एक थान पोर्टेवल ग्रामिण अल्ट्रासाउण्ड मेसिन प्रदान गरिएको जानकारी दिए। यस्तै, ६ स्वास्थ्यकर्मीलाई २ महिने दक्ष प्रशुतीकर्मी सम्बन्धी तालिम दिइएको, २ जनालाई ग्रामीण अल्ट्रासाउण्ड मेसिन सञ्चालन सम्बन्धी तालिम दिलाइएको लगायतका क्रियाकलाप सञ्चालन गरिएको वनहर्ट वल्डवाईडले जनाएको छ।

स्वास्थ्य कार्यालय खोटाङसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा वनहर्टले सन् २०१९ भित्र सञ्चालन गरिने क्रियाकलापका बारेमा जानकारी गराएको छ। जनवरीदेखि डिसेम्बरको अवधिमा मातृ तथा नवजात शिशु स्वास्थ्य सम्वन्धी जनचेतनामुलक क्रियाकलाप सञ्चालन गर्ने, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा विस्तार गर्ने, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रदायकको क्षमता अभिवृद्धि तथा सुधारका काम गर्ने संयोजक उप्रेतीले बताए। 

आगामी वर्ष दिनभित्र ६ वटा बर्थिङ सेन्टर मर्मत, १५ गाउँघर क्लिनिक र १२ बर्थिङ सेन्टरलाई उपकरण प्रदान लगायतका योजना कार्यान्वयन गरिने वनहर्टले जनाएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङले मातृ तथा नवजात शिशु स्वास्थ्यलाई जिल्लाका हरेक पालिकामा विस्तार गर्न सुझाव दिए। 

 

प्रकाशित: १ चैत्र २०७५ ०८:२० शुक्रबार

खोटाङ नवजात_शिशु मृत्यु