समाज

नवलपरासीमा विप्लवका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

बुटवल - विप्लव समूहको बन्दको प्रभाव प्रदेश ५ का बाह्रै वटा जिल्लामा परेको छ। सडक चोकमा विप्लवका कार्यकर्ता दिनभर नदेखिए पनि प्रदेशका सबै जिल्लामा बन्दको प्रभाव परेको हो।

जिल्ला सदरमुकामहरुमा फाट्टफुट्ट निजी गाडी तथा मोटरसाइकल चले पनि लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन्। कलकारखाना, स्कुल कलेज बजार बन्द भए। 

तुलनात्मक रूपमा यसअघिका नेकपाको बन्दमा भन्दा यसपटक प्रभाव अलि बढिपरेको विभिन्न जिल्लाका सुरक्षा अधिकारीहरुले नै बताएका छन्। प्रदेशका सबै जिल्लाका लागि गाडी छुट्ने बुटवल बसपार्क बिहीबार दिनभर सुनसान भयो। बन्दका क्रममा प्रदेशमा अप्रिय  घटना नभए पनि पूर्वी नवलपरासीमा दुई वटा ट्रकमा आगजनी भएको छ।

सरावल गाउँपालिका ३ मा सडक छेउमा रोकी राखेका ना४ख ६८२५ र ना५ख ७७४१ नम्बरका दुइ वटा ट्रकमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन्। 

काठमाडौं स्टिल उद्योगमा सामान लोड गर्न आएका ट्रासपोर्टका ती दुई ट्रकमा बिहीबार बिहान १ बजेतिर आगजनी भएको नवलपरासी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले बताए।

पुर्वी नवलपरासी विप्लवको कम प्रभावित जिल्ला मानिन्छ। त्यस्तै बन्दकर्ताले प्रदेशका ५ वटा जिल्ला सदरमुकाममा बम राखका थिए। रुपन्देहीको बुटवल, बाँकेको कोहलपुर, प्युठानको स्वर्गद्वारी,रोल्पा र रुकुम सदरमुकामम नजिकै सडकछेउमा लो एक्सप्लोसिभ बम राखिएको थियो। बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो।

 

प्रकाशित: ३० फाल्गुन २०७५ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App