समाज

विष्कुटभित्र ब्राउनसुगर

सुर्खेत– नेपालगञ्जबाट सुर्खेत आउँदै गएको फोर्स गाडीमा यात्रारत होलिया गाउँपालिका–८ खडैचाका इन्द्रजीत बाल्मिकीको साथमा लागूऔषध ब्राउनसुगर रहेको सूचना इलाका प्रहरी कार्यालय छिन्चुले प्राप्त ग-यो। सूचना अनुसार प्रहरी निरीक्षक निरोज चौलागाईको टोली छिन्चुस्थित चेकपोष्टमा तैनाथ भयो। नेपालगञ्जबाट आएको बा५ख ५९९७ नम्वरको गाडी प्रहरीले चेकजाँच सुरु ग-यो। यात्रारत बाल्मिकीको शरिर र झोला खानतलासी प्रहरीले खानतलासी ग-यो। 

‘बाल्मिकीको झोलाभित्र २०–२० लेखिएका नखोलिएका विष्कुटका प्याकेटहरु थिए’ प्रहरी निरीक्षक चौलागाईले भने, ‘त्यहीँभित्र ब्राउनसुगर लुकाएको पत्ता लाग्यो।’ प्रहरीका अनुसार बल्मिकीले सात वटा विष्कुटका प्याकेटभित्र प्लाष्टिकमा बेरेर लागूऔषध ल्याएका थिए। ‘नापतौल गर्दा उनले विष्कुटका प्याकेटभित्र सात ग्राम लागूऔषध ब्राउनसुगर ल्याएका रहेछन्’, उनले भने, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएका छौं।’ 

बन्दुक बरामद

बाल्मिकीकै सूचनाका आधारमा प्रहरीले बुधबार दिउँसो भेरीगंगा–६ स्थित झिग्नीका गोविन्द सुनारको घर खानतलासी ग-यो। लागूऔषध बरामद गर्न गएको प्रहरीले उनको घरबाट एक भरुवा बन्दूक र ५० ग्राम बारुद बरामद ग-यो। ‘बाल्मिकीले दिएको सूचनाका आधारमा हामी सुनारको घर खानतलासी गर्न गएका थियौं’, प्रहरी निरीक्षक चौलागाईले भने, ‘लागूऔषध खोज्न गएका थियौं, बन्दूक र बारुद फेला पा-यौं।’ प्रहरीले सुनारलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ। 

प्रकाशित: २९ फाल्गुन २०७५ १२:४७ बुधबार

ब्राउनसुगर प्रहरी खानतलासी विष्कुट