समाज

दुई सय नेपाली विद्यार्थीलाई भारतले दियो स्वर्ण जयन्ती छात्रवृत्ति

काठमाडौं– दुई सय नेपाली विद्यार्थीलाई भारतले स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ। राजधानीको लैनचौरस्थित भारतीय दूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक तहको अध्ययनलाई अघि बढाउन दुई सय जेहेन्दार विद्यार्थीलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको हो। 

एमबीबीएस, बीडिएस, बिई, बीएससी, बीबीए, बी कम, लगायत ३६ वटा स्नातक कोर्षका लागि ५० जिल्लाका विद्यार्थीले छात्रवृत्ति पाउने दूतावासले जनाएको छ। यी विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन्।

होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहमा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले दुई सय विद्यार्थीलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरे। नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न शुभकामना दिए। उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने उनको भनाई थियो।

सन् २००२ मा भारत सरकारले ‘भारत–नेपाल आर्थिक सहकार्य’को ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो। छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। सन् २००७ मा छात्रवृत्ति कोटो वृद्धि भई एक सय पुगेको थियो। सन् २०१२ देखि यता छात्रवृत्ति संख्या दोब्बरले वृद्धि भएर दुई सय भएको छ। 

छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबीबीएस÷बीडिएसका विद्यार्थीले पाँच वर्षसम्म प्रति महिना ४ हजार, बीईको विद्यार्थीले चार वर्षसम्म प्रति महिना ४ हजार र अन्य स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्षसम्म प्रति महिना ३ हजार रुपैयाँ पाउने छन्।

हालसम्म नेपालका ७७ जिल्लाका २ हजार भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरिसकिएको छ। 

प्रकाशित: २९ फाल्गुन २०७५ ११:३२ बुधबार

स्वर्ण_जयन्ती_छात्रवृत्ति भारतीय_दूतावास नेपाली_विद्यार्थी