समाज

हराएको नाबालक जंगलमा सकुशल फेला

खोटाङ - खोटाङमा वेपत्ताभएको २३ घण्टापछि १९ महिने नाबालक सकुशल फेला परेका छन्। मंगलबार बिहान साँढे १० बजे घरबाटै हराएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा हात्तीसारटोलका राजकुमार मगरको १९ महिने बच्चा एवान बुधबार बिहान ९ बजे भेटिएको हो।

घरबाट वेपत्ता भएका बालक घरभन्दा २ किलोमिटर टाढापर्ने भस्लुङपाखामा शकुसल फेला परेको स्थानीय शिक्षक पञ्चुकुमार राईले बताए। मंगलबार दिनभर र रातभर खोजी गर्दा नभेटिएका बालकलाई शेसथुम्कीको पाखामा उत्तिसको घना जंगल र काँडाघारीभित्र चुथ्रोको फेदमा बसिरहेको अवस्थामा फेला पारिएको हो। चुथ्रोको फेदमा शान्तसँग बसिरहेका बालक स्थानीयलाई देखेपछि अत्तालिँदै आफन्ततर्फ आएको शिक्षक राईले बताए। 

१९ महिनाको बालक घरभन्दा दुई किलोमिटर माथि जंगलमा भेटिएपछि स्थानीय अचम्मित भएका छन्। ‘कसैले लगेर राखेको भन्ने अवस्था पनि देखिन्न,’ राईले भने, ‘हिँडडुल गर्न नसक्ने बालक कसरी त्यहाँसम्म पुग्यो, हामी अचम्म भएका छौं।’ 

आमा कामका लागि बारीमा गएकाबेला बालकलाई हजुरबाको हेरचाहमा छाडिएको थियो। हजुरबा काम विशेषले केही समय घर बाहिर गएर फर्कँदा बालक राखेको ठाउँबाट वेपत्ताभएको आफन्तको भनाई छ।

बालक हराएको खबर आएपछि प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। ‘बालक हराएको खबर आएपछि प्रहरी पठायौं, रातभर नभेटिएको बालक जंगलमा शकुसल फेला परेको खबर आयो’, डिएसपी केसीले भने, ‘स्वास्थ्य जाँच गर्दा पनि बालकको अवस्था सामान्य रहेको जानकारी आएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको छ।’

प्रकाशित: २९ फाल्गुन २०७५ ११:४१ बुधबार

खोटाङ एवान_मगर दिप्रुङ_चुइचुम्मा