समाज

एकसय घरधुरी ढुंगाको उच्च जोखिममा

कालिकोट – कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकास्थित रुकुका २ गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिको ठूलो ढुंगा भएको डाँडा खस्ने खतरा भएपछि त्यहाँका एकसय घरधुरी पहिलोको उच्च जोखिममा परेका हुन्।

नम्बर १ सेरीज्युलामा पर्ने उक्त डाँडा खसेमा त्यहाँका बटाला टोल, गिरी टोल र दलित बस्तीमा ठूलो जनधनको क्षति पुग्ने स्थानीयको भनाई छ। वडा तथा गाउँपालिका हुँदै जिल्ला प्रशासन भएर गृहमन्त्रालयसम्म जानकारी हुँदा समेत ढुंगाको डाँडा फोड्ने काम भएको छैन्।

ढुंगे पहिरो आउने डरले गाउँले रातिको समय घर छोडेर आफन्त कहाँ जाने गरेका छन्। करिब ५० वटा घरधुरीका स्थानीय घर बाहिर बस्ने गरेको स्थानीय शिक्षक खेमराज गीरीले जानकारी दिए। ढुंगा खस्दा भयानक पहिलो आउने त्रासले स्थानीय रातदिन भगवान पुकारेर बस्ने गरेका छन्।

रातीको समयमा स्थानीयलाई ढुंगाको हेराला राख्नुपर्ने बाध्यता भएको स्थानीय खेमराज गिरीले बताए। ‘मेरो गाउँका स्थानीयले राम्रोसँग खान बस्न र सुत्न पाएका छैनन्’, उनले भने, ‘गाउँ मात्र नभइ स्वास्थ्य चौकी पनि ढुंगा र पहिरोको जोखिममा छ।’

ढुंगाको तल शंकर मावि समेत रहेकाले विद्यार्थी त्रासै त्रासको बीचमा विद्यालय आउने गरेको स्थानीय भिमराज गिरीले बताए। जिल्ला सुरक्षा समितिको आवश्यक कार्यार्थ पत्र गृह मन्त्रालयमा पुगेको एक महिना पुगेका छ।

 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०५:५७ बुधबार

कालिकोट पहिरो ढुंगा गाउँ जोखिम