समाज

विवाह वा मृत्यु संस्कारका लागि सामुदायिक घर

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा सामुदायिक पाटी घर निर्माण गरिएको छ। स्थानीय तामाङ र शेर्पा समुदायको विवाह, घेवा (मृत्युपछिको संस्कार), चाडपर्व, सामूहिक भोजलगायतका सार्वजनिक कार्यक्रम गर्न नुनथला गैरीमा सामुदायिक पाटी घर निर्माण गरिएको हो।

वडा कार्यालयको ४ लाख ५० हजार र स्थानीय ३३ घरबाट हजारका दरले संकलन गरिएको रकमबाट फलामे ट्रसको घर बनाइएको हो। सहरमा हरेक कार्यक्रम पाटी प्यालेसमा गर्ने प्रचलन बढिरहेका बेला स्थानीयले नुनथलामा सोही प्रकृतिको घर बनाएका हुन्।

दुई महिनाअघि निर्माण थालिएको घरमा अब जस्तापाता हाल्ने काम मात्र बाँकी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम तामाङले बताए। घर निर्माणका लागि स्थानीय पेमाछिरी शेर्पा र दोर्ची शेर्पाले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:३० बुधबार

खोटाङ विवाह मृत्यु_संस्कार सामुदायिक_घर