समाज

पत्रकार दियाली आक्रमणका आरोपीलाई धरौटी

सर्लाही – पत्रकार सोम दियालीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई जिल्ला अदालतबाट धरौटीमा छाड्ने आदेश भएको छ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश शिवप्रसाद खनालको इजलाशले पत्रकार दियालीमाथि आक्रमणमा संलग्न आरोपी हरिवन नगरपालिका–११ का २० वर्षीय इरफान देवानलाई तीन लाख ५० हजार धरौटीसहित तारेखमा छाड्न आदेश दिएको हो। मंगलबार वादी र प्रतिवादीको तर्फबाट भएको थुनछेक बहस पश्चात न्यायाधीश खनालले गरेको आदेशमा अभियुक्त देवानलाई घटनामा संलग्न कसुरदार ठहर्याए पनि थुनामै राखेर कार्बाही गर्नुपर्ने कसुरदार भने नठहरिएको उल्लेख छ।

आदेशअनुसार धरौटी बुझाउन नसक्दा देवानलाई मंगलबार पनि प्रहरी हिरासतमै पठाइएको जिल्ला अदालतका स्रेस्तेदार मुकुन्द आचार्यले बताए। आचार्यका अनुसार आक्रमणमा संलग्न भएको अभियोग लागेका बागमती नगरपालिका–१ का समीर गुरुङ र हरिवन नगरपालिका–९ का भीमप्रसाद रेग्मीविरुद्ध पक्राउ–पुर्जी जारी भएको छ। हाल उनीहरू फरार रहेका छन्।

सामुदायिक रेडियो हरिवनका स्टेसन म्यानेजर दियालीमाथि गत माघ २९ गते हरिवनस्थित सुखेपोखरीनजिकको चियापसलमा सांघातिक आक्रमण भएको थियो। देवानले पटक–पटक फोन गरेर बोलाएको ठाउँ सुखेपोखरी जाँदा पत्रकार दियालीमाथि सांघातिक आक्रमण भएको हो।

शरीरका विभिन्न भागमा गहिरो चोट लागेका दियालीको तीनओटा दाँतसमेत नयाँ हाल्नुपरेको छ। पत्रकार दियालीका अनुसार आक्रमणमा संलग्न भीम रेग्मीले केही दिनअघि फेसबुक म्यासेञ्जरमा समेत उनलाई धम्की दिएका थिए।

घटना भएको महिना दिनसम्म पनि प्रहरीले आक्रमणमा संलग्न मुख्य अभियुक्तहरूलाई पक्राउ गर्न सकेको छैन। सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको बताएका छन्।

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:५४ बुधबार

पत्रकार सोम_दियाली सांघातिक_आक्रमण अदालत धरौटी