समाज

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम– सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा जिल्लाको शारदा नगरपालिका १३ चिसापानी का २३ वर्षीय चालक कृष्ण डाँगी र उनका साथमा रहेका चैबाङ्गज्युला घर भएका १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

श्रीनगरबाट लान्ती जाँदै गरेको उक्त ट्याक्टर सोमबार राति साढे ८ बजे शान्तिनगर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गिरीराज भण्डारीले जानकारी दिए।

खाल्डाखुल्डी परेको सडक र तीव्र गतिका कारण अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको उनले बताए। ट्याक्टर सडकबाट करिब १५ मिटर तल खेतमा खसेको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए। 

सोही ठाउँमा केही दिनअघि मात्र काठमाडौंबाट रुकुम (पश्चिम) आउँदै गरेको बस पनि दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २४ जना घाइते भएका थिए। यहाँको सडक खाल्डाखुल्डी भएका कारण दुर्घटना बढ्दै गएको प्रहरीले बताएको छ। 

प्रकाशित: २८ फाल्गुन २०७५ १३:१२ मंगलबार

ट्याक्टर_दुर्घटना सल्यान मृत्यु