समाज

माछा मार्ने जाल घडियालको शत्रु

कसरास्थित प्रजनन् केन्द्रमा हुर्काइएको घडियाल। तस्बिरः सविता/नागरिक

चितवन - चालु आर्थिक वर्षमा मात्रै सात वटा घडियाल गोही मरेको भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा राप्ती नदी किनारमा जालमा बेरिएको अवस्थामा घडियाल फेला परेका हुन्।

माछा मार्न प्रयोग गरिने जालमा बेरिएर घडियाल मरेको पाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्। निकुञ्जका प्रशासनका अनुसार जालमा बेरिएका अरू सात वटा घडियाललाई जीवित नै उद्धार गरिएको छ।

गत आर्थिक वर्षमा जालमा बेरिएर तीन वटा घडियाल मरेको पाइएको थियो। ‘लुकिछिपी माछा मार्नेहरूले थापेको जालमा परेर दुर्लभ घडियाल मरेको भेटिने गरेको छ,’ संरक्षण अधिकृत ढकाल भन्छन्, ‘माछा मार्ने तियारी जाल घडियालको शत्रु बनेको छ।’ ठूला तियारी जालको प्रयोग गरेर माछा मार्न पाइँदैन। स्थानीय बोटे समुदायका मानिसलाई माछा मार्ने लाइसेन्स (स्विकृति) लिएकाहरूले मात्र हाते जालको प्रयोग गरेर र परम्परागत तरिकाबाट माछा मार्न पाउने व्यवस्था रहेको प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन्।

निकुञ्जले माछा मार्न हाते जाल मात्र प्रयोग गर्न दिने भए पनि लुकीछिपी तियारी जालको प्रयोग हुने गरेको छ। रातको समयमा लुकेर माछा मार्नेहरूले विशेषगरी तियारी जालको प्रयोग गर्ने गरेका छन्। यो आर्थिक वर्षमा मात्रै ठूलो तियारी जाल प्रयोग गरेर माछा मार्दै गरेको भेटिएका तीन वटा घटनामा मुद्दा चलाइएको आरक्षले जनाएको छ। तियारी जाल ठूलो आकारको नेट जस्तो जाल हो। नदीमा फैलिएर बग्दा बलियो जालमा गोही अड्कियो भने निस्कन सक्दैन।

संरक्षण अधिकृत ढकालका अनुसार जालमा बेरिँदा लाग्ने चोटपटक र खानेकुरा खान नपाउँदा घडियाल मर्ने गर्छन्। नेपालमा घडियाल र मगर गरी दुई प्रजातिका गोही पाइन्छन्। घडियाललाई इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ् नेचर (आइयुसिएन) ले अति संकटापन्न सुचिमा राखेको छ। घडियाल गोहीको संरक्षणका लागि चितवनको कसरास्थित घडियाल संरक्षण प्रजनन् केन्द्रमा घडियाल उत्पादन गरेर हरेक वर्ष विभिन्न नदीहरूमा छाड्ने गरिएको छ। नेपाल सरकार र फ्र्यांकफर्ट जुलोजिक सोसाइटीको पहलमा २०३५ सालमा प्रजनन् केन्द्र स्थापना गरिएको हो।

घडियालले प्राकृतिक बासस्थान नदी, खोलाको बगरमा पारेको अण्डा खोजेर प्रजनन केन्द्रमा राखिन्छ। अण्डाबाट बच्चा कोरलेर हुर्किएपछि फेरी नदीमा नै छाड्ने गरिएको छ। प्रत्येक वर्ष ५ वर्ष पुगेका पाँचदेखि एक सय दुईको संख्यामा घडियाल गोही नदीमा छाड्ने गरेको केन्द्रको तथ्यांक छ। केन्द्रले हालसम्म राप्ती, नारायणी, कोसी, कर्णाली, कालीगण्डकी र बबई नदीमा एक हजार तीन सय ६५ वटा घडियाल छाडेको छ।

संरक्षण गरेर नदीमा छाडिएका घडियाल पनि ज्यादै कम मात्र भेटिने गरेको छन्। अहिले घडियालको प्रमुख बासस्थान रहेका नदी नारायणी र राप्ती हुन्। यसबाहेक कर्णाली र बबईमा घडियाल रहेका छन्। घडियाल नेपाल र भारतमा मात्रै पाइन्छ।

सन् २०१८ मा गरिएको अध्ययनमा राप्तीमा एक सय १८ र नारायणीमा एक सय एक वटा गरी चितवन निकुञ्ज क्षेत्रमा दुई सय १९ वटा घडियाल भेटिएको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए।
गोही पानी र जमीन दुवै ठाउँमा बस्न सक्ने उभयचर जीव हो। यसलाई प्राचीन डाइनोसर जीवको प्रजाति मानिएको छ। प्रकृतिको अति संवेदनशील प्राणीमा पर्ने घडियाल प्रकृतिमा भएको परिवर्तनअनुसार अनुकूल बन्न सक्दैन। गहिरो, सफा र बगिरहेको पानीमा बस्ने जीव भएकोले घडियाल पानीभित्रको पारिस्थितिक पद्धति (इको सिस्टम)लाई सन्तुलनमा राख्न महत्वपूर्ण कारक मानिन्छ। भीडभाड र अतिक्रमण मन नपराउने घडियालले माछा मात्र खान्छ।

उपयुक्त बासस्थान र आहाराको अभाव हुँदा घडियाल लोप हुँदै गएको छ। तियारी जालको प्रयोग हुनु, नदीमा प्रदूषण बढ्नु, माछा हराउनु, माछा मार्न विषको प्रयोग गर्नु, बाढीले बासस्थानमा क्षति हुनु र नदीबाट बालुवाको निकासी अधिक हुनुले घडियाल संकटमा परेको प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन्। प्रजनन् केन्द्रबाट घडियाल उत्पादन गरेर नदीमा छाड्नेसँगै प्राकृतिक बासस्थान संरक्षण, नदी प्रदूषण हुन नदिने, माछाको संख्या बढाउन संरक्षणका कामहरू गर्दै आएको उनले बताए।

प्रकाशित: २८ फाल्गुन २०७५ ०२:४७ मंगलबार

चालु_आर्थिक जाल घडियाल