समाज

पत्रकारितासँगै कुखुरापालन

तनहुँ –  दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत पत्रकार रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासिक रु ५० हजार कमाउँदै आएका छन।

छिमेकी जिल्ला पाल्पाको माडीबाट ह्याचिङ गरेको स्याखिनो जातको कुखुरामा क्रस गरी उत्पादन भएको एक हजार चल्ला ल्याएर व्यवसाय शुरु गरेका कुँवरले पाँच महीनाको अवधिमा करीब दुई लाख ५० हजार आम्दानी गरेका छन।

भानुनगरपालिका वडा नं १३ स्थित मिर्लुङमा मिर्लुङ पशु फार्म दर्ता गरेर कुखुराको खोर, चल्ला, दाना गरी रु छ लाख ५० हजार खर्चेर व्यावसायिक रूपमा कुखुरापालनमा लागेका कुवँरले अहिलेसम्म करीब ७०० कुखुरा बिक्रीसमेत गरेको बताए। 

“गाउँघरका कुखुराले ओथारो बसेर निकालेको चल्ला बढीमा १०÷१५ वटा मात्र हुनसक्छ,” उनले भने “यसले बजारको मागलाई धान्न सक्दैन, यस्तो अवस्थामा स्थानीय जात सरहकै कुखुरा उत्पादन गर्दा बजारको मागलाई धान्न सजिलो भएको छ।” 

उक्त कुखुरा पाँच महीनाको अवधिमा डेढदेखि २०० किलो हुने, प्रतिकिलो रु ६०० मा बिक्री हुने, बिक्री गर्न अन्यत्र लैजानु नपर्ने, खोरमै लिन आउने, बोइलर कुखुरालाई जस्तो बढी स्याहार गर्नुनपर्ने, रोगको प्रकोप बढी नहुनेलगायत कारणले आफू यस पेशातर्फ आकर्षित बनेको उनले भने, यस व्यवसायलाई निरन्तरता दिने योजना बनाएको छु । 

महीनाको रु ५०÷६० हजार कमाउन गाउँका युवा विदेशिने गर्छन्, कुँवरले भने स्वदेशमै मिहिनेत गर्न सके विदेशको कमाउन सकिने पैसा  स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि पनि आफूले यो व्यवसाय अँगालेको हुँ। पछिल्लो समय तनहुँमा स्याखिनो जातको कुखुरा पाल्नेहरूको आर्कषण बढ्दै गएको पाइन्छ।

प्रकाशित: २७ फाल्गुन २०७५ ११:२७ सोमबार

पत्रकार पत्रकारिता कुखुरापालन