समाज

सुत्केरी भत्ता माग्दै स्वास्थ्यकर्मी कुट्ने दम्पती पक्राउ

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–२ यार्सामा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको नौकुण्ड गाउँपालिका-२ यार्साका ५० वर्षीय दावा नेमा तामाङ र उनकी ४३ वर्षीय श्रीमती किता रानी तामाङ रहेका छन्।

स्वास्थ्य चौकीमा कार्यरत अनमी नेप्लीसा पुन मगरलाई उनीहरूले बिहीबार कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा दुबै जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो। गत साउनमा बुहारीलाई स्वास्थ्य चौकी ल्याउन नसकेपछि अनमी मगरको टोलीले घरमै गएर सुत्केरी गराएका थिए। घरमै सुत्केरी भएको भएपनि उनीहरूले सुत्केरी भत्ता उपलब्ध गराउन दबाब दिँदै आएका थिए। पाउनु पर्ने रकम मगरले लिएको र आफूहरूलाई नदिएको भन्दै तामाङ दम्पतीले गाली गलौज गर्दै बिहीबार साँझ मगरलाई कुटपिट गरेका थिए। 

कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए। नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सुत्केरी भत्ता उपलब्ध गराउने गर्दछ। 

 

प्रकाशित: २५ फाल्गुन २०७५ १३:३८ शनिबार

स्वास्थ्यकर्मी कुटपिट सुत्केरी_भत्ता