समाज

स्कुटर दुर्घटनामा एकको मृत्यु

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ घलाते चोकमा शनिबार विहानै  स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

काठमाडौबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा ९५ प ३३१८ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घाइते दुवैलाई उपचारका लागी भक्तपुरकै मध्यपुर अस्पताल लगिएकोमा चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ हाल सूर्यबिनायक बस्ने बर्ष २६ को रन्जीब लामा उपचारकै क्रममा मृत्यु भएको परिसरका निमित सूचना अधिकृत सुशीलकुमार पाण्डेले बताए। स्कुटरको पछाडि सवार रामेछाप सुनपती ४ घर भई हाल पाण्डुबजार बस्ने बर्ष २३ को पासाङ तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

 

 

प्रकाशित: २५ फाल्गुन २०७५ ०४:५८ शनिबार

स्कुटर दुर्घटना