समाज

संकटमा मगर संग्राहलय

मगर संग्राहलयमा राखिएका परम्परागत बस्तुहरू ।    तस्बिर : दिनेश/नागरिक

रोल्पा – रोल्पाको सदरमुकाम लिबाङमा चार वर्षअघि स्थापना गरिएको मगर संग्राहलय संरक्षणको अभावमा संकटमा परेको छ। देशकै सबैभन्दा बढी मगर समुदायको बाहुल्यता रहेको रोल्पाका मगर समुदायको परम्परागत भेषभुसा, संस्कृति र रहन सहनलाई झल्काउने सामाग्रीहरू राखिएको संग्राहलय अहिले संरक्षणको अभावमा संकटमा परेको हो।

चार वर्षअघि उच्च पहाडी गरिबी निबारण आयोजना (उपाप) को आर्थिक सहयोग र स्थानीय मगर बुद्धिजीवीको सक्रियतामा खोलिएको हो। संग्राहलय स्थापनाका लागि सक्रिय बनेका व्यक्तिहरू अहिले आ–आफ्नै पेशा, व्यवसायमा व्यस्त भएपछि संग्राहलय महिनौंसम्म पनि बन्द हुने गरेको मगर संघ रोल्पाका अयक्ष कुमबहादुर पुनले बताए।

रोल्पा नगरपालिकाले थोरै बजेट दिएपछि गत आर्थिक वर्षको कोठा भाँडा बुझाएता पनि यो वर्ष भने संग्राहलयले कहाँबाट लिएर घर भाँडा बुझाउने भन्ने अझै अन्यौलमा रहेको छ। लोप हुन लागेको मगर संस्कृति, भेषभुसा र परम्परागत जीवनशैलीलाई भावी पुस्तासम्म बचाइराख्ने उद्देश्यले स्थापना गरिएको संग्राहलय अहिले अधिकांश समय बन्द रहेको हुन्छ।

देशकै सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको रोल्पामा यस्ता जिवन्त संस्कृति झल्काउने सामाग्रीलाई प्रचार प्रसारसँगै संरक्षणको खाँचो रहेको छ। आर्थिक अभावका कारण संकटमा परेको मगर संग्राहलय व्यवस्थित गर्न स्थानीय सरकारसंग अनुरोध गरिएको मगर संघ रोल्पाका अयक्ष कुमबहादुर पुन बताउँछन्।

‘हामीसंग अहिले संग्राहलयमा परम्परागत भेषभसा, बाजा गाजा, भाडाकुडा गरी १ सय ११ थरिका बस्तुहरू छन्। आर्थिक रुपले कतैबाट सहयोग पाएमा व्यवस्थीत गर्ने सोचमा छौ’, पुनले भने, ‘बेलैमा संरक्षण गर्न सकिएन भने परम्परागत संस्कृति कस्तो थियो भनेर भावी पुस्तालाई देखाउन सकिने अवस्था समेत छैन्।’

रोल्पा संकट मगर_संग्राहलय