कल्पना योङहाङ लिम्बुले जीवनमा यो तहको सफलता हात लाग्ला भनेर सोचेकी पनि थिइनन्। हरेक प्रयास निराशामा टुंगिन्थे। हरेक साथ असहाय बनाएर जान्थे। तर हिम्मत नहारेपछि सम्भावनाका ढोका खुल्दा रहेछन्। अहिले उनी ‘कल्पना ढाका बुटिककी’ संचालक बनेकी छन्। दुई सयजनालाई रोजगार दिएकी छन्। विश्व बजारमै ढाका कपडाका विभिन्न परिधान पठाउँछ उनको बुटिकले। सञ्चालक भए पनि आफै तानमा बस्छिन्। आफै डिजाइन गर्छिन्। र बजारमा पठाउन आफै खटिन्छिन्।
यो स्थानसम्म आइपुग्न उनले लामो बाटो हिँडिसकेकी छिन्। पाँचथर ऐसेलुको हुनेखाने परिवारमै बीसका दशकको पछिल्लो कालमा जन्मेकी हुन् उनी। बा शिक्षक थिए। समाजमा प्रतिष्ठित थियो परिवार। तर पञ्चायत काल थियो। समाज कहाँ शिक्षित थियो र ? बिहे गरी जाने जात न थिए छोरी। बिहे भयो उनको पनि १४ वर्षमै। २२ वर्षकी हुँदासम्म त एक छोरा र एक छोरी जन्मिसकेका थिए उनका।
छोराछोरी भए तर पति र पतिका परिवार आफ्ना भएनन्। तैपनि हिम्मत हारिनन् उनले। छोरा आशिष र छोरी आस्थालाई आफै आमा आपैm बाबु बनेर हुर्काइन, पढाइन, जिम्मेवारीबोध गर्न सक्ने बनाइन्। परिवारको साथ नपाएपछि इलमलाई साथी बनाइन्।
जीवनका अनेकौं बाधा पार गर्न के मात्र गरिनन् र ? किराना पसलदेखि खासा व्यापार। पाकिस्तानी छाला ज्याकेटको व्यापारदेखि मिलन फर्निचर उद्योगको प्रोपाइटर। पेइङ गेस्टको होस्टदेखि निर्माण व्यवसायसम्म।
आन्दोलनको क्रममै उनले माक्र्स भेटिन्, लेनिन भेटिन्, माओ भेटिन्। ती सबैले उनलाई सिकाए – जिन्दगी संघर्ष हो। संघर्षदेखि भाग्नुहुँदैन। दुःख भयो भनेर थाक्नुहुँदैन।
व्यवसायमा साथ दिने कोही थिएनन्। एक्लै थिइन्। आँट गर्थिन्। तर एक्लो मान्छेले चाहेर पनि पार लाउन नसक्ने धेरै दुःख हुँदा रहेछन्। त्यसैले हरेक व्यवसायलाई दुई वर्षमै छोड्नुपर्यो। प्रत्येक व्यवसायले केही नाफा दिए। केही हण्डर खुवाए। केही ठक्कर पाइन्। तर हरेकले एक–एक वटा शिक्षा दिए। सबै शिक्षा समेटेर निष्कर्ष निकालिन् – अब उत्पादनमुखी व्यवसाय गर्नूपर्छ। पछिल्लो व्यवसाय त्यही शिक्षाको परिणती हो।
० संघर्षको दर्शन
जीवनका यी उतारचढावलाई थाम्न केले सिकायो ?
‘दर्शनको अध्ययनले’, छोटो जवाफ छ कल्पनाको।
‘मैले मुख्यतः काल माक्र्सको दर्शन पढेँ। अन्य जीवन दर्शन पनि पढेकी छु। ठूला र प्रगतिशील व्यक्तित्वहरूको जीवन दर्शनबाट नै अझैसम्म काम गर्ने ऊर्जा घटेको छैन,’ उनी बताउँछिन्।
माक्र्सवादी दर्शनको अध्ययनले जीवन संघर्ष गर्न सिकाएको उनको अनुभुती छ। अहिले पनि उनी १८ घण्टा काममा बिताउँछिन्। ‘१२/१३ घण्टा त ढाका कपडामै खेल्छु’, कल्पना भन्छिन्, ‘माक्र्सवादले श्रमको सम्मान गर्न सिकायो।’
माक्र्सवादसँग उनको संगत पञ्चायतविरोधी आन्दोलनले गराएको थियो। परिवारको दुःख र व्यवसायको धपेडीबीच उनी आन्दोलनमा सहभागी भइन्। आन्दोलनको क्रममै उनले माक्र्स भेटिन्, लेनिन भेटिन्, माओ भेटिन्। ती सबैले उनलाई सिकाए – जिन्दगी संघर्ष हो। संघर्षदेखि भाग्नुहुँदैन। दुःख भयो भनेर थाक्नुहुँदैन।
० ढाका यात्राको सुरुवात
घरेलु ढाकाको व्यवसाय उनको जीवनको पछिल्लो रोजाई हो।यो व्यवसाय सजिलो भने थिएन। २०६२ साल काठमाडौंमा जोरपार्टीमा आफ्नै घरको छतमा एउटा तान राखेर ढाका बुन्न सुरु गरेकी हुन् उनले। यहि व्यवसाय नै उनको जीवनको सफलताको सिढी बन्यो। जीवनमा सफल बनाउने व्यवसायका वारेमा सीप सिक्न कतै जानु परेन। उनको माइतीघर पाँचथरको अैसेलुमा उनी सानै छदा नै यस्ता कपडा बुन्ने तान थिए। त्यतिबेला घरमै तीन वटा ढाका बुन्ने तानमा नै उनको स्कुलिङ सुरु भएको थियो। आमा, दिदी वा परिवारका अन्य सदस्यलाई राम्रै ढाका कपडा बुन्न आउथ्यो। घरेलु सीप भएकाले उनले आत्मविश्वासका साथ दैनिक १८ घण्टासम्म काममा खट्टिन्।
उनी सानो छदा पाँचथर, इलाम र ताप्लेजुङका अधिकांश लिम्बू समुदायको घरमा तान र कपडा बुन्ने सीप थियो। उत्पादित कपडालाई हाट बजारमा लगेर बेचिन्थ्यो। कपडा बिक्री भएर आएको पैसाबाट घरमा आवश्यक सामान ल्याइन्थ्यो। विस्तारै समाजमा आधुनिकता भित्रियो। आयातित सामानले बजारमा प्राथमिकता पाउन थाल्यो। परम्परागत घरेलु उत्पादनलाई आयातित सस्ता वस्तुले विस्थापन गरिदियो ।
ढाका बुन्न सुरु गरेको दुई वर्षपछि ढाकाको कपडा उत्पादन गर्ने ‘द हाइल्याण्ड आर्ट’ औपचारिक रुपमा स्थापना भयो। अहिले द हाइल्याण्ड आर्टले कपडा उत्पादन गर्छ भने ‘कल्पना ढाका बुटिक’ले उत्पादित ढाका कपडाको डिजाइन गरेर विश्व बजारमा पुर्याउँदै आएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीदेखि बलिउड र हलिउडसम्मका सेलिबेटीले उनको उद्योगबाट उत्पादित कपडा र डिजाइन मन पराएका छन्। उनको कारखानाबाट डिजाइन तथा उत्पादन गरिएका ढाकाका पहिरन थुप्रै म्युजिक भिडियो र चलचित्रमा पनि प्रयोग भइरहेका छन्।
२०१४ की मिस नेपाल सुविन लिम्बूले मिस वल्र्डमा सहभागी हुँदा लगाएको मेख्लीको पनि कल्पनाले डिजाइन गरेकी थिइन्। छक्का पञ्जा भाग–३, मुन्द्रेको कमेडी सो, लिम्बुहरूको गीतको म्युजिक भिडियोमा समेत उनकै सिर्जनाले स्थान पाएको छ। युरोप र अमेरिकी धेरै स्टेजमा उनको कलाको प्रर्दशन गरिएको छ।
उनको बुटिकले साधारण क्याजुयल ड्रेसदेखि, पार्टी वयेर, कल्चरल तथा फसेनेबल ड्रेससमेत उतपादन गर्दै आएको छ। खासगरी विदेशमा बस्ने नेपालीले मेरो कला, सीप र सिर्जनालाई मनपराएर माया गरिदिनु भएको छ,’ उनी भन्छिन् ‘म यसैमा खुसी र आभारी छु।’ उनका उत्पादनले छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा ख्याती कमाएको छ।
सुरुमा ढाकाको कपडा लिएर बजारमा बिक्रीका लागि जाँदा कपडा फ्यालिएका नमिठो अनुभव पनि लिम्बुसँग छ। पछि तिनै मानिस सामानको अडर दिन आए। पहिला मैले बजार खोज्दै भौतारिनु पर्थ्यो। इख लिएर काम गरेकोले नै अहिले बजारले मलाई खोज्दै आएको छ। विश्वास नजित्दासम्म बजार लिन गाह्रो थियो। अहिले अडरअनुसार पु¥याउन नै कठिन छ,’ उनी थप्छिन् ‘दुई हजार जनाले बुनेको ढाका बिकाउन सक्ने भएको छु।
अन्य व्यवसायबाट सन्तुष्ट नमिलेपछि लिम्बुले तानको मोहलाई बिउझाइन्। काठमाडौं, ललितपुर, भक्तपुरलगायतका स्थानमा गएर ढाका बुन्नेदेखि तान र धागो पाइने स्थानको समेत खोजी गरिन्। यस विषय गहिरो अध्ययन तथा अनुसन्धान गरिन्। कच्चा पदार्थदेखि श्रमिक र बजारसम्मको अवस्थालाई केलाइन्।
२०६२ सालमा महिला सहकारीबाट १५ हजार रुपैयाँ ऋण लिएर उनले एउटा तान किनिन्। त्यो तानले उत्पादन गरेको सामान बेचेर थप ४ वटा किनिन्। त्यसपछि क्रमशःतानहरू थपिदै गए। अहिले उनीसँग पाँच दर्जनभन्दा बढी तान छन्।
१५ हजार रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले दुई सयजनाभन्दा बढीले रोजगारी पाइरहेका छन। गोकर्णमा स्थापित हाइल्यान्ड आर्टले कीर्तिपुर र ललितपुरमा पनि शाखा विस्तार गरेको छ। न्यून पुँजीबाट स्थापना भएको उनको उद्योग यो अवधिमा चार करोड ३० लाख रुपैयाँ पुँजी भएको उद्योग बनेको छ।
लगातार दुई वर्षको अध्ययनपछि ढाकाको कपडा बुन्ने काम गर्ने अठोट गरें र काम थालें,’ लिम्बूले भनिन् ‘काम सजिलो थिएन।’ चुनौतीहरू प्रशस्त थिए। यसको सामना गर्दै एक्लै जुधे। परिश्रम र मेहनत गरे सफलता अवश्य मिल्छ भन्ने आत्मबलका साथ काम नथाकी काम गर्दै गए। अहिले उनको परिश्रमलाई देश र विदेशले सम्मान समेत दिइसकेको छ। सोही कारण पछाडि फर्केर हेर्नुपरेको छैन।
० अर्थ खोज्छन् विदेशी
बढ्दो प्रतिस्पर्धा र सचेतनाको कारण नेपालीले रंगमात्रै छनोट गरेपनि विदेशीले भने रंग र बुट्टा दुबैको अर्थ खोज्ने गरेको उनले सुनाइन्। यो बुट्टाको अर्थ के हो ?यसको प्रभाव कस्तो रहन्छ वा हुन्छ ? यो लगाउँदा के हुन्छ? त्यसमा र यसमा के भिन्नता छ ? किन यस्तो बुट्टा राखेको अनेकौ प्रश्नको उत्तर दिनुपर्ने हुन्छ कल्पनालाई।
‘कसैले मायालु कलर रोज्छन् त कसैले इमोशनल कलर । यसका आ–आफ्नै अर्थ र प्रभाव हुन्छ,’ उनले भनिन्। यी सबै बुझाउन नसके व्यवसाय आधुनिक समाजमा व्यवसाय टिकाउन सहज नभएको उनले बताइन्। त्यहि भएर कल्पना सफल उद्यमी महिलामात्र होइनन् एक अध्यता र अनुसन्धानकर्ता पनि हुन्। यस विषयमा पनि उनले अध्ययन गरेकी छिन्।
० अध्ययनको बल
पाँचथर जिल्लामा जन्मिएर काठमाण्डौंको गोकर्णलाई कर्मथलो बनाएकी लिम्बुसँग व्यवसाय सुरु गर्दा बुन्ने तान बाहेक अन्य डिजाइनका विषयमा ज्ञान थिएन। घरेलु सीपले काठमाडौंको बजारमा प्रतिस्पर्धी बजारमा टिक्न सक्ने अवस्था थिएन।। त्यही समयमा अमेरिकामा बसोबास गर्दै आएका एक साथीको सहयोगमा डाइडी नाम गरेकी अमेरिकी नागरिकबाट नेपालमै फेसन डिजाइनसम्बन्धी तालिम लिने अवसर पाइन्। यसले उनलाई अगाडि बढ्न सहयोग पुग्यो।
त्यसपछि ढाकाका परम्परागत कपडालाई आधुनिक डिजाइनमा ढालेर नेपालीमात्र नभई विदेशमा पनि आफ्नो उत्पादन विस्तार गर्न थालिन्। संस्कृतिको पनि जगेर्ना हुने र व्यवसाय पनि अगाडि बढ्नेगरी परम्परागत कपडालाई आधुनिक रूपमा ढाल्न सके नयाँ पुस्ताले मन पराउने बजार सिनारियो बुझेर सोही अनुरुप अघि बढिन्। त्यसपछि उनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सीटीईभीटी¬) मा १० हजार घण्टा पढेर टेक्सटाइल इन्जिनियरिङ गरिन्।
६वर्षको अवधिमा उनलाई प्राप्त भएको यो ज्ञानले उनलाई एकपछि अर्को सफलताको सिढी उकाल्दै लग्यो। अमेरिकाबाट कलर म्याचिङ र लण्डनबाट ड्रेस डिजाइन सम्बन्धि ज्ञान पनि हासिल गरेकी छिन्। हाल उनको उद्योग हाइल्याण्ड आर्टबाट करिब पाँच सय किसिमका बुट्टाबाट बनेका ढाका कपडा उत्पादन हुँदै आएको छ। यो सबै उनकै सिर्जना हो।
देश विदेशका विभिन्न विभुषणबाट विभुषित कल्पनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सफल उद्यमीको उपाधी पाएकी छिन्। उनी सन् २००९ मा उत्कृष्ट महिला उद्यमी बनेकी थिइन्।
० सपनाको जगेर्ना
‘म ढाकामा भावनादेखि नै डुबिसके,’ कल्पना भन्छिन्, ‘म थाकेकी छैन र कहिल्यै थाक्दिन पनि।’ सधै नयाँ सिर्जना कसरी गर्ने भन्ने चिन्ता हुन्छ उनलाई। सातै प्रदेशमा ढाकाको प्रशिक्षण दिई महिलाहरूलाई आत्मनिर्भर बनाउने ठूलो इच्छा छ उनको।
आफ्नो उद्योगलाई झापा, सुनसरी, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामलगायत जिल्लादेखि सूदुर पश्चिमसम्म आफ्नो सीपलाई विस्तार गर्ने उनको योजना छ। ‘म जस्तै लाखौं उद्यमी बनाउने मेरो सपना छ,’ उनी भन्छिन्।
परिवारलाई नै उद्यमी बनाउन पढाउने तयारी गर्दैछिन् उनले। यसका लागि उनले ढाका कपडा बुन्ने र डिजाइन सम्बन्धि स्कुल खोल्ने तयारी समेत गरिसकेकी छिन्। यसै सम्बन्धि किताव लेख्ने काम समेत उनी आफै गर्दैछिन्।
‘प्रत्येक महिलालाई यो सीप दिन सके देशको अर्थतन्त्रमै ठूलो टेवा पुग्ने थियो। यसमा मेरो अभियान जारी छ। महिला आत्मनिर्भर भए घरेलु हिंसा समेत कम हँुदै जाने विश्वास उनलाई छ। नेपाली ढाकालाई संसारमा चिनाउने अठोट कल्पनाले लिएकी छिन्। यो सिंगा राष्ट्रको पहिचान हो। सरकारले यसलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्छ,’ उनले भनिन्।
नेपाली ढाका कपडालाई सरकारी पोशाक बनाउन माग राख्दै उनी उद्योग मन्त्रालयमा डेलिकेशन समेत गएकी थिइन्। उनलाई ढाका कपडा सरकारी पोशाक बनाउन ठूलो रहर छ। तर, अहिलेसम्म राज्यले यसमा वास्ता नगरेको उनले सुनाइन्।
० अनुदान कहाँ पाइन्छ ?
कल्पनाले सरकारले अनुदान दिन्छ रे भन्नेसम्म सुनेकी छिन्, तर कहाँ पाइन्छ उनलाई थाहा छैन। मैले संर्घस गरेर व्यवसाय संचालन गरेकी छु, अहिलेसम्म राज्यबाट एक पैसा पनि सहयोग पाएको छैन। सहुलियत कर्जा त आर्दशका कुरा हुन्, ’ कल्पनाले भनिन् ‘ सरकार यथार्थमा जानु पर्यो। ऋण लिन सहज छैन। पाइला पाइलामा अप्ठ्यारो छ।
काठमाडौंमा व्यवसाय गर्ने मैले त सहज ढंगबाट कर्जा पाउन सकेकी छैन भने अन्य महिला उद्यमीको हालत के होला। यसमा सरकारले ध्यान दिने हो भने देशभित्रै रोजगारी प्रर्याप्त रोजगारी सिर्जना हुन्छ। सरकारले रोडम्याप भने बनाइ दिनुपर्ने उनले बताइन्। ‘देशभित्रै कच्चा पदार्थ (कपास)उत्पादनमा सरकारले सहयोग गरे कच्चा पदार्थको लागि विदेशी मुलुकमा नेपाली पैसा जाने थिएन,’ उनले थपिन्।
० चुनौती र अवसर दुबै
स्वदेश र विदेशमा उनको उत्पादनको आकर्षण बढ्दो छ। माग जति पनि आउँछ र धान्न सक्ने अवस्था अहिल्यै छैन। बजार विस्तार हुँदै गएको छ। व्यवसाय विस्तारका क्रममा दक्षिण कोरियाबाट पहिलो विदेश यात्रा सुरु गरेकी उनले अहिले युरोपका विभिन्न देशसहित ३३ मा आफ्नो कला प्रदर्शन गरी सकेकी छिन्। यसले उनलाई अझ अवसरको ढोकाहरू खोलिदिएका छन्।
तर, कल्पनालाई कतै ५० को दशकमा नेपाली तयारी पोशाक र गलैचाले बजार गुमाएको जस्तै हुने होकी भन्ने ठूलो डर छ। विश्व बजारमा पछिल्लो समय थरिथरिका फरक प्रकारका वस्तुहरूले प्रवेश गरिरहेका छन्। ट्रेडमार्क लिइसकेको भएपनि कतै डुब्लिकेशन हुने वा कम गुणस्तरको सामानको थिचोमा पर्ने त होइन भन्ने उनलाई ठूलो डर छ।
यस्ता समस्यासँग जुध्न उद्यमी आफै सजक र होसियार हुनुपर्ने उनको सुझाव छ। ढाकालाई बिगार्न लागिएको छ,’ उनले भनिन्। कपडाले ट्रेडमार्क पाइसकेकोले उनी ढुक्क भएपनि बजार गुम्ने होकी भन्ने चिन्ताले उनलाई सताउने गरेको छ।
० फेसबुकको साथ
हाइल्यान्ड आर्टको काठमाडौंको बौद्धमा ढाकाको सोरुम छ। त्यहि जोरपाटी र अन्य स्थानमा बुनेका कपडाको डिजाइन हुन्छ। प्रचारप्रसारका लागि विज्ञापन गरेकी छैनन्। सेलिबे्रटीले गर्ने फेसन सो वाहेक उनको व्यवसाय प्रवद्र्धनको मुख्य माध्यम फेसबुक हो। आफूले डिजाइन गरेका कपडालाई फेसबुक पेजमा पोस्ट गरेपछि त्यहीबाट अर्डर आउने गरेको उनले सुनाइन्। अहिले कल्पनाले अनलाइन सपिङ मार्फत व्यावसायिक रूपमा नेपाल साथै विश्वको कुना,कुनामा आफ्नो उत्पादनलाई बजारीकरण छिन्।
० सँगसँगै समाजसेवा
कल्पनाले आफ्नो कमाइको केही अंश समाजसेवामा पनि खर्चिने गरेकी छन्। साडी बिक्रीबाट आएको पाँच सय सलबाट ५० रुपैयाँ, दौरासुरुवालबाट तीन सय गरी उनले समाज सेवाको लागि रकम जोह गर्छिन। एकल महिलाका १२ जना बच्चालाई उनले पढाइरहेकी छिन्। कसैको परिवारकै बन्दाबस्ती समेत उनले मिलाइ दिएकी छिन्। विभिन्न अनाथालयमा उनको साथ र सहयोग छ। बेचिएका चेलीदेखि श्रीमान् विदेश गएका महिला दिदीबहिनीलाई उनले तालिम दिएर रोजगारी दिएकी छिन्।
प्रकाशित: २४ फाल्गुन २०७५ ०२:४३ शुक्रबार