समाज

महायज्ञमा सहभागी हुँदा दलित परिवार हर्षित

महायज्ञमा सहभागी दलित परिवार।    तस्बिर : रितेश/नागरिक

वीरगन्ज – वीरगन्जमा आइतबार सुरु भएको अश्वमेध गायत्री महायज्ञमा सहभागी दलित समुदायका सदस्यले अभूतपूर्व अनुभूति गरेका बताएका छन्। ‘धेरै राम्रो अनुभूति हुँदैछ। कुनै अवरोध छैन, भेदभाव छैन। पूजाआजादेखि हवनसम्ममा दलितलाई सहज पहुँच छ,’ महायज्ञमा सहभागी भएर निस्किएकी वीरगन्ज छप्कैयाकी दलित अगुवा निला रामले भनिन्, ‘महायज्ञको तयारीका बेला नै आयोजकले दलित समुदायको बैठक डाकेर सबै कार्यक्रममा सहभागिताका लागि आग्रह गरे। दलित समुदायका महिला र बालिका कलशयात्रामा सहभागि भए। हामीले महायज्ञमा भाग लिइरहेका छौं।’

महायज्ञको अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याले आइतबार उद्घाटन गरेका थिए। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने तय भएको महायज्ञमा दैनिक हजारौं मानिसले भाग लिरहेका छन्। हिन्दु धर्मपद्धतिअनुसार गरिने सामूहिक धार्मिक आयोजन तथा महायज्ञमा दलितलाई सहभागी गराउनेमा विमति र विवादका घटना प्रकाशमा आइरहेका बेला यो महायज्ञमा भने दलितले फरक अनुभूति गर्न पाएका हुन्।

‘यो यज्ञ मानव जातिका लागि हो, यसमा कुनै प्रकारको भेद छैन, न जातीय न धार्मिक,’ हरिद्वारस्थित शान्तिकुञ्जबाट आएका डा. पाण्ड्याले भने, ‘समाजमा रहेको असमता र कुरीति मेटाउनकै लागि यो महायज्ञ भएकाले यसमा सबैका लागि समभाव राखिन्छ।’ राष्ट्रका सबै खाले शक्ति जागृत गर्ने उद्देश्यले भइरहेको आयोजनमा कोही पनि वञ्चितीकरणमा पर्न नहुने उनको भनाइ छ।

‘वीरगन्ज १५ भिस्वा घर भएका निरजकुमार पासवान श्रीमती र बालबच्चासहित पुजा र हवनमा सहभागी भए। उनले आफ्ना लागि यो जीवनकै सुखद अवसर भएको बताए। ‘यो खुसियालीले मेरा लागि धेरै अर्थ राख्छ। मन्दिर र यज्ञहरुमा मेरो समुदायका मानिसहरुको सहभागिता प्रायः बन्देज नै हुन्छ तर नेपालमै पहिलो पटक भएको यत्रो ठूलो महायज्ञमा हामी ससम्मान सहभागी हुन पायौं,’ पासवानले भने, ‘अरु जातिका मानिससँग महायज्ञमा बसेर पहिलो चोटि सामूहिक पूजाआजा गर्दा सुखद अनुभूति भयो।’

महायज्ञ आयोजन समितिले पर्चा, ब्यानर र विभिन्न सञ्चारमाध्यममार्फत सबै जाति र धर्मका मानिसलाई महायज्ञमा सहभागिताका लागि अह्वान गरेको थियो। महायज्ञ मूल आयोजक समितिको संयोजकसमेत रहेका वीरगन्जका नगरप्रमुख विजय सरावगीले समावेशी सहभागिता जति हुन्छ त्यति नै महायज्ञ सफल भएको मानिने बताए। यज्ञमा सहभागीमध्ये आधाभन्दा बढी महिला रहेको र दलितले पनि उल्लेखनीय सहभागिता जनाएकोमा उनले खुसी व्यक्त गरे।

महायज्ञमा २ सय ५१ कुण्डमा हवन, विभिन्न खाले प्रवचन, देव संस्कृति दर्शाउने प्रदर्शनीलगायत समावेश छन्। शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकले वैदिक मन्त्रको साथमा चारदिवसीय हवन यज्ञ गर्दैछन्। युग संगीत, सत्संग एवं सांस्कृतिक कार्यक्रमका साथै १६ प्रकारका संस्कार निःशुल्क सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ। पुस्तक मेला, चित्र प्रदर्शनीसमेत राखिएको छ।

प्रकाशित: २२ फाल्गुन २०७५ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App