समाज

ओखलढुंगाको रामपुरमा पुल बन्ने

ओखलढुंगा – मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चा र मुख्य व्यापारिक केन्द्र रामपुर बजार जोड्न पुल बनाउने योजना अघि बढाइएको छ। रामपुर र प्राप्चाको बीचमा रहेको मोलुङ खोलामा ७ सय ५६ मिटर लामो झोलुंगे पुल निर्माण गर्ने तयारी थालिएको हो।

पर्यटकीय क्षेत्रका रूपमा गाउँपालिका र रामपुरलाई विकास गर्न उक्त पुल निर्माणको प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए। उक्त पुल निर्माण गर्न लाग्ने लागत एकिन भइसकेको छैन।

पुल निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा गरी विस्तृत प्राविधिक अध्ययन भइरहेको मोलुङ गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए। प्राविधिक अध्ययनपछि लागत एकिन हुने र संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा पुल निर्माण थालिने उनले बताए। पुल बनेपछि रामपुरबाट करिब दुई घण्टामा लाग्ने प्राप्चा १५ मिनेटमै पुगिने बताइएको छ।

प्रकाशित: २२ फाल्गुन २०७५ ०१:४२ बुधबार

मोलुङ_गाउँपालिका ओखलढुंगा रामपुर_बजार पुल