समाज

घाँटी थिचेर साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

सर्लाही– कर्तव्यज्यान मुद्दाका १८ वर्षदेखि फरार अभियुक्तलाई सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिपुरले पक्राउ गरेको छ। 

हरिपुर नगरपालिका–१, जानकीनगर निवासी ४५ वर्षीय रामविश्वास महतोलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रमेशबहादुर पालले जानकारी दिए। २०५७ साल पुस १ गते स्थानीय ननिपद् नुनिया महतोको घाँटी थिचेर हत्या गरेको मुद्दाका आरोपी रामविश्वासलाई किशनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार भारतको पञ्जावमा मजदुर लैजाने ठेकेदारको रूपमा कार्यरत रामविश्वासले ननिपदलाई समेत मजदुरीमा लगेको र त्यहाँ ३ महिनासम्म तलब नपाएपछि स्थानीय साउजीलाई गुनासो गरेका कारण उनीहरूबीच रीसइबी बढेको थियो। सोही रिसले गाउँमा आएको बेला स्थानीय हरिवन बजार गरेर फर्कने क्रममा रामविश्वासले ननिपद्को हत्या गरेको किटानी जाहेरीमा उल्लेख रहेको प्रहरी निरीक्षक पालले जानकारी दिए। 

‘पुराना फाइल हेर्ने क्रममा १८ वर्ष पुरानो घटना त्यतिकै थाती रहेको पाएँ, तत्काल टोली खटाएर फरार अभियुक्त खोज्नेलगायत प्रक्रिया अगाडि बढाएँ’, प्रहरी निरीक्षक पालले भने, ‘घटनालगतै भारततिरै बस्दै आएका रामविश्वास केही वर्षयता घरतिरै बस्दै आएका रहेछन्, पक्राउ गरेर जिल्ला अदालतबाट म्यादसमेत लिई कारबाही अघि बढाइएको छ।’

 

प्रकाशित: २० फाल्गुन २०७५ १४:५० सोमबार

फरार_अभियुक्त कर्तव्य_ज्यान सर्लाही किटानी_जाहेरी